लेख विवरण

आईपीएलमा अभिषेक शर्माको ऐतिहासिक धमाका: दिल्लीविरुद्ध १३५ रनको अविजित पारी खेल्दै बनाए नयाँ कीर्तिमान

आईपीएलमा अभिषेक शर्माको ऐतिहासिक धमाका: दिल्लीविरुद्ध १३५ रनको अविजित पारी खेल्दै बनाए नयाँ कीर्तिमान

हैदराबाद / २१ अप्रिल, २०२६ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ३१औं खेलमा सनराइजर्स हैदराबादका आक्रामक ओपनर अभिषेक शर्माले दिल्ली क्यापिटल्सविरुद्ध ऐतिहासिक प्रदर्शन गरेका छन्। उनले विस्फोटक ब्याटिङ गर्दै आईपीएल इतिहासकै पाँचौं उच्च व्यक्तिगत स्कोर बनाउनुका साथै टी-२० क्रिकेटमा नयाँ विश्व कीर्तिमान समेत कायम गरेका छन्। 

अभिषेकको विष्फोटक शतक

हैदराबादस्थित घरेलु मैदानमा भएको खेलमा अभिषेकले मात्र ६८ बलमा १० चौका र १० छक्काको मद्दतले अविजित १३५ रन जोडे। यो उनको आईपीएल करियरको दोस्रो शतक हो। उनको यो शानदार इनिङको मद्दतले हैदराबादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २४२ रनको विशाल योगफल तयार पार्यो।

आईपीएल इतिहासकै पाँचौं उच्च स्कोर

अभिषेकले बनाएको १३५ रन आईपीएल इतिहासको पाँचौं ठूलो व्यक्तिगत स्कोर हो। यसअघि आईपीएलमा क्रिस गेल (१७५*), ब्रेन्डन म्याकुलम (१५८*), अभिषेक शर्मा स्वयम् (१४१ रन, २०२५ मा) र क्विन्टन डी कक (१४०*) ले मात्र योभन्दा बढी रन बनाएका छन्।

गेल र फिन्चको रेकर्ड तोडियो

यस इनिङसँगै अभिषेकले टी-२० क्रिकेटको एउटै इनिङमा ४ पटक १३० भन्दा बढी रन बनाउने पहिलो खेलाडी बनेका छन्। उनले यस मामिलामा क्रिस गेल र आरोन फिन्च जस्ता दिग्गजहरूलाई पछि पारेका छन्, जसले ३–३ पटक यस्तो उपलब्धि हासिल गरेका थिए। साथै, उनले टी-२० क्रिकेटमा आफ्नो ३५० छक्का पनि पूरा गरेका छन्।

हैदराबादको विशाल लक्ष्य

टस जितेर पहिले बलिङ रोजेको दिल्ली क्यापिटल्सका बलरहरू अभिषेकको अगाडि निरिह देखिए। हैदराबादका लागि ट्राभिस हेडले ३७ र कप्तान इशान किशनले २५ रनको योगदान दिए भने हेनरिक क्लासेनले अन्त्यमा १३ बलमा ३७ रनको विष्फोटक पारी खेले। दिल्लीका लागि अक्षर पटेलले मात्र १ विकेट लिन सफल भए।

यो जितसँगै अभिषेक शर्माले फेरि एकपटक आफूलाई आधुनिक क्रिकेटको सबैभन्दा खतरनाक ब्याटरको रूपमा प्रमाणित गरेका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.