विश्वकप छनोटको खुसीयाली: बास्नियाली फुटबलर डेमिरोभिचले स्टुटगार्टका फ्यानहरूलाई सित्तैमा बियर र आइसक्रिम खुवाउने
खेलकुद डेस्क, जर्मन क्लब भीएफबी स्टुटगार्टका फरवार्ड एर्मेडिन डेमिरोभिचले आफ्नो देश बास्निया एन्ड हर्जगोभिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको खुसीयालीमा फ्यानहरूलाई विशेष उपहार दिने घोषणा गरेका छन्। उनले स्टुटगार्ट शहरका फुटबल समर्थकहरूलाई बियर र बालबालिकाहरूलाई आइसक्रिम खुवाउने आफ्नो बाचा पूरा गर्न लागेका हुन्।
"बास्नियाली राष्ट्रिय टोलीबाट विश्वकप खेल्नु मेरो लागि ठूलो सपना थियो जुन अब पूरा हुँदैछ," उनले लेखेका छन्, "मैले फ्यानहरूलाई गरेको बाचा म बिर्सिएको छैन, अब उत्सव मनाउने पालो आएको छ।"
डेमिरोभिचले अर्को हप्ता शहरमा हुने एक उत्सवमा आफैं उपस्थित भएर फ्यानहरूलाई बियर बाँड्नेछन्। उनले बालबालिकाहरूका लागि क्लबको प्रशिक्षण सत्रमा आइसक्रिम ट्रकको व्यवस्था गर्ने र क्लबको परोपकारी फाउन्डेसनलाई आर्थिक सहयोग समेत गर्ने बताएका छन्।
अनुमान अनुसार, स्टुटगार्टको रंगशालाको क्षमता (करिब ६० हजार) लाई आधार मान्दा फ्यानहरूलाई बियर खुवाउन मात्रै डेमिरोभिचको करिब ३ लाख युरो (नेपाली ४ करोड रुपैयाँभन्दा बढी) खर्च हुने देखिन्छ। रोचक कुरा के छ भने, डेमिरोभिच आफैं भने मदिरा सेवन गर्दैनन्।
इटालीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपमा पुगेको बास्निया एन्ड हर्जगोभिनाको यो इतिहासकै दोस्रो विश्वकप यात्रा हो। सन् २०१४ पछि पहिलोपटक विश्वकप खेल्न लागेको बास्निया २०२६ को समूह 'बी' मा क्यानडा, स्विट्जरल्याण्ड र कतारसँगै रहेको छ।
जर्मनीमा जन्मिएका २८ वर्षीय डेमिरोभिचले यो सिजन स्टुटगार्टका लागि ३२ खेलमा १२ गोल गरिसकेका छन्। उनको यो कदमको अहिले विश्वभरका फुटबल फ्यानहरूले प्रशंसा गरिरहेका छन्।

टिप्पणी लेख्नुहोस्