लेख विवरण

नेपाली मुआथाई स्टार सुस्मिताले भारतमा 'प्रोफेसनल किक बक्सिङ' खेल्ने, आरती खत्रीसँग भिडन्त पक्का

नेपाली मुआथाई स्टार सुस्मिताले भारतमा 'प्रोफेसनल किक बक्सिङ' खेल्ने, आरती खत्रीसँग भिडन्त पक्का

काठमाडौँ । नेपाली मुआथाई क्षेत्रमा चम्किरहेकी प्रतिभावान खेलाडी सुस्मिता तामाङले भारतमा व्यावसायिक किक बक्सिङ (के-वान फाइट) खेल्ने भएकी छन् । आगामी मे ९ मा भारतको गुजरातमा आयोजना हुने 'रोनिन फाइट च्याम्पियनसिप' मा उनले आफ्नो कौशल प्रदर्शन गर्ने निश्चित भएको हो ।

गुजरातका पूर्व राजपरिवारका सदस्यहरूको आयोजनामा हुन लागेको यस व्यावसायिक च्याम्पियनसिपमा सुस्मिताले भारतीय खेलाडी आरती खत्रीको सामना गर्नेछिन् । मुआथाईमा अपराजित यात्रा कायम राखेकी सुस्मिताका लागि यो किक बक्सिङ मिश्रित फाइट एक नयाँ र चुनौतीपूर्ण अनुभव हुनेछ ।

यस पटकको 'के-वान फाइट' सामान्य किक बक्सिङभन्दा केही फरक र उच्च स्तरको हुनेछ । प्रशिक्षक खगेन्द्र क्षेत्रीका अनुसार यस खेलमा युएफसीमा प्रयोग गरिने ४ आउन्सको पन्जा (ग्लब्स) प्रयोग गरिनेछ । प्रतियोगिता ५ मिनेटको दरले ३ राउन्डसम्म चल्नेछ ।

प्रशिक्षक क्षेत्रीले भने, "सुस्मिताले अहिलेसम्म यति सानो ग्लब्समा फाइट गरेको अनुभव छैन, यो उनको पहिलो पटक हो । गण्डकी प्रदेशकी यी खेलाडी अब पूर्ण व्यावसायिक बन्ने दिशामा छिन् । हाम्रो मुख्य लक्ष्य थाइल्याण्डको व्यावसायिक मुआथाई यात्रा हो र यो फाइट त्यसका लागि एउटा महत्वपूर्ण खुड्किलो बन्नेछ ।"

आर्थिक अभावका बीच अन्तर्राष्ट्रिय यात्रा

च्याम्पियनसिपको विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सुस्मिता भारतमा निकै चर्चित खेलाडी हुन् । यसअघि उनले भारत, श्रीलंका र नेपालमा मुआथाई र तेक्वान्दो लगायतका विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरिसकेकी छन् ।

यद्यपि, प्रतिभा हुँदाहुँदै पनि आर्थिक अभावका कारण उनले धेरै अवसरहरू गुमाउनु परेको छ । प्रशिक्षक क्षेत्रीका अनुसार चीन, जापान र मलेसिया जस्ता देशहरूबाट निम्तो आए पनि पर्याप्त बजेट नहुँदा उनी सहभागी हुन सकिनन् । हालसम्म मुआथाईका कुनै पनि खेलमा हार व्यहोर्नु नपरेकी सुस्मितालाई उचित आर्थिक सहयोग जुटेमा उनले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम अझै चम्काउन सक्ने देखिन्छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.