लेख विवरण

प्रधानमन्त्री कप भलिबल: एपीएफलाई ठुलो झट्का, रुकुम पश्चिम र एभरेस्टको प्रभावशाली जित

प्रधानमन्त्री कप भलिबल: एपीएफलाई ठुलो झट्का, रुकुम पश्चिम र एभरेस्टको प्रभावशाली जित

काठमाडौँ, वैशाख ११ । राजधानीमा जारी दशौँ प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) का लागि बिर्सनलायक दिन सावित भएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा एपीएफको पुरुष र महिला दुवै टोलीले हारको स्वाद चाखेका छन् ।

पुरुषतर्फ: रुकुम पश्चिमको सहज जित

पुरुषतर्फको प्रतिस्पर्धामा एपीएफ रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरसँग स्तब्ध भयो । तीन जना पाकिस्तानी खेलाडी र गण्डकी प्रदेशका खेलाडीहरूको समीश्रण रहेको रुकुम पश्चिमले एपीएफमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । खेलभर हाबी देखिएको रुकुमले एपीएफलाई २५–१४, २५–२१ र २५–१५ को सहज अन्तरले पराजित गर्दै महत्वपूर्ण अंक बटुल्यो ।

महिलातर्फ: एभरेस्टको ऐतिहासिक नतिजा

महिलातर्फको खेलमा पनि एपीएफले हार व्यहोर्नु पर्यो । भारतका तीन जना उत्कृष्ट खेलाडी समेटेको एभरेस्ट भलिबल क्लबले एपीएफलाई ३–१ को सेटमा पाखा लगायो । भारतीय खेलाडी केपी अनुश्रीको सानदार प्रदर्शनको मद्दतले एभरेस्टले २५–२०, १६–२५, २५–१७ र २५–१६ को जित निकाल्यो । अघिल्लो खेलमा आर्मीलाई हराएको एपीएफका लागि यो प्रतियोगिताको पहिलो हार हो ।

न्यु डायमन्डको 'रेकर्ड' जित

शुक्रबारकै अर्को खेलमा न्यु डायमन्ड स्पोर्टस् क्लबले सुदूरपश्चिम प्रदेशमाथि निकै आक्रामक जित दर्ता गर्‍यो । न्यु डायमन्डले सुदूरपश्चिमलाई २५–११, २५–३ र २५–१ को स्कोरमा रोक्दै ३–० को सेटमा जित हात पार्यो । तेस्रो सेटमा सुदूरपश्चिमलाई मात्र १ अंकमा सीमित राख्नु न्यु डायमन्डको उत्कृष्ट प्रदर्शनको नमुना थियो ।

पुलिसको संघर्षपूर्ण जित

पुरुषतर्फकै अर्को खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–१ को सेटमा हरायो । पुलिसले कोशीमाथि २५–२३, २२–२५, २५–२० र २५–२२ को संघर्षपूर्ण जित निकाल्दै आफ्नो लय कायम राखेको छ ।

यस जितसँगै विदेशी खेलाडीहरू सम्मिलित टोलीहरूले लिगमा आफ्नो बलियो उपस्थिति जनाएका छन्, जसले गर्दा उपाधि होड झनै रोचक बनेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.