नवौँ भोजपुर गोल्डकप: साविक विजेता एपीएफलाई पाखा लगाउँदै आयोजक भोजपुर फाइनलमा
भोजपुर, १० वैशाख । साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई स्तब्ध पार्दै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ नवौँ भोजपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सदरमुकामस्थित कोदार रङ्गशालामा बिहीबार भएको पहिलो सेमिफाइनल भिडन्तमा भोजपुरले एपीएफमाथि २–० को सानदार जित दर्ता गरेको हो।
घरेलु दर्शकको उल्लेख्य समर्थन पाएको भोजपुरले खेलको दुवै हाफमा एक–एक गोल गर्यो। खेलको २९औँ मिनेटमा दोर्जी तामाङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मा सकिएको खेलको दोस्रो हाफमा आयोजकले थप आक्रामक प्रदर्शन गर्यो। खेलको ६५औँ मिनेटमा सञ्जय लिम्बुले गोल गर्दै भोजपुरको जित सुनिश्चित गरे।
एपीएफले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो।
दोर्जी तामाङ 'प्लेयर अफ दी म्याच'
खेलको पहिलो गोलकर्ता दोर्जी तामाङ 'प्लेयर अफ दी म्याच' चुनिए। उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
दोस्रो सेमिफाइनल शुक्रबार
प्रतियोगिताअन्तर्गत शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा सातदोबाटो युथ क्लब ललितपुर र प्लानिंग ब्वाइज युनाइटेड काठमाडौँ भिड्ने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिए।
पुरस्कार राशि र फाइनल
स्थानीय रङ्गशालामा भइरहेको यस प्रतियोगितामा कुल ८ टोली सहभागी छन्। उपाधि विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आगामी वैशाख १२ गते हुनेछ।
यो पनि पढ्नुहोस्: चन्द्रगढी महिला गोल्डकप: संकटालाई सडन डेथमा हराउँदै एपीएफ सेमिफाइनलमा

टिप्पणी लेख्नुहोस्