लेख विवरण

१०औँ एनभिए भलिबल लिग: विभागीय टिमहरूको धमाकेदार सुरुवात, पुलिस र एपिएफ विजयी

१०औँ एनभिए भलिबल लिग: विभागीय टिमहरूको धमाकेदार सुरुवात, पुलिस र एपिएफ विजयी

काठमाडौँ, वैशाख ११ गते । काठमाडौँको त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहीबारदेखि सुरु भएको १०औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् । महिलातर्फको खेलमा यी दुई टोलीले आ-आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै लिगमा सुखद सुरुवात गरेका हुन् ।

पुलिसको सोझो सेटमा जित

बिहीबार पहिलो महिला खेलमा नेपाल पुलिस क्लबले बुटवलको एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । पुलिसले खेलको पहिलो सेटमा २६-२४ को कडा प्रतिस्पर्धाका बीच जित हात पार्यो भने दोस्रो सेटमा २५-१६ र तेस्रो सेटमा २५-१७ को सहज जित निकाल्यो । खेलमा पुलिसले आफ्नो अनुभव र कौशलको राम्रो प्रदर्शन गरेको थियो ।

एपिएफले आर्मीलाई पराजित गर्यो

यस्तै, दोस्रो महिला खेलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हरायो । एपिएफले पहिलो सेटमा २५-२३ को जित निकाल्दै खेलमा अग्रता लियो । आर्मीले दोस्रो सेट १७-२५ ले जित्दै खेलमा पुनरागमन गर्ने प्रयास गर्यो तर एपिएफले तेस्रो र चौथो सेटमा क्रमशः २५-१९ र २५-१९ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो ।

पुरुषतर्फ आठ र महिलातर्फ छ टोलीको सहभागिता

बैशाख १९ गतेसम्म सञ्चालन हुने यस लिगमा पुरुषतर्फ आठ र महिलातर्फ छ गरी कुल १४ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपिएफ, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम, कोशी प्रदेश र बुढानीलकण्ठ क्लब सहभागी छन् । महिलातर्फ न्यु डायमन्ड, नेपाल प्रहरी, एपिएफ, सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

पुरस्कार राशी पनि आकर्षक

यस लिगको कुल लागत एक करोड १५ लाख रुपियाँ रहेको छ । लिगको विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रो हुने टोलीले दुई लाख ५० हजार रुपियाँ पाउने छन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपियाँ प्रदान गरिने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.