आईसीसी लिग–२ः युएई विरुद्ध दिपेन्द्र सिंह ऐरीको अर्धसतक, ओडीआई करियरको छैठौं ५०
काठमाडौँ, १२ वैशाख । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा जारी संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको महत्वपूर्ण खेलमा नेपाली विष्फोटक ब्याटर दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट अर्धसतक प्रहार गरेका छन् ।
५९ बलमा अर्धसतक
मध्यक्रममा सम्हालिएर ब्याटिङ गरेका दिपेन्द्रले मात्र ५९ बलमा आफ्नो अर्धसतक पुरा गरेका हुन् । कठिन अवस्थामा क्रिजमा आएका उनले ४ चौका र १ छक्काको मद्दतले टोलीको इनिङ्सलाई उकासेका थिए । ताजा अवस्थामा उनी ६० बलमा ५१ रन बनाएर खेलिरहेका छन् ।
ओडीआई करियरको छैठौं अर्धसतक
दिपेन्द्रका लागि अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट (ओडीआई) मा यो छैठौं अर्धसतक हो । यसअघि उनको नाममा एक शतक र पाँच अर्धसतक रहेको थियो । युएई विरुद्धको यो इनिङ्सले उनको ओडीआई औसत र आत्मविश्वासमा थप वृद्धि गरेको छ ।
नेपालको इनिङ्स
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती झड्का बेहोरे पनि दिपेन्द्र र आरिफ शेखबीचको साझेदारीले खेललाई लयमा फर्काएको थियो । समाचार तयार पार्दासम्म नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको छ । हाल दिपेन्द्रलाई साथ दिन सोमपाल कामी क्रिजमा आएका छन् ।
नेपालले बाँकी ओभरमा आक्रामक ब्याटिङ गर्दै चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

टिप्पणी लेख्नुहोस्