लेख विवरण

१५ वर्षीय वैभव सूर्यवंशीको कीर्तिमानी ब्याटिङ: आधा सिजनमै बनाए तीन ठूला विश्व रेकर्ड

१५ वर्षीय वैभव सूर्यवंशीको कीर्तिमानी ब्याटिङ: आधा सिजनमै बनाए तीन ठूला विश्व रेकर्ड

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (IPL) २०२६ मा राजस्थान रोयल्सका युवा ओपनर वैभव सूर्यवंशीले आफ्नो ब्याटिङले क्रिकेट जगतलाई स्तब्ध पारेका छन्। बिहारका १५ वर्षीय यी बायाँ हाते ब्याटरले यस सिजनको आधा यात्रा नसकिँदै तीनवटा यस्ता ऐतिहासिक कीर्तिमान कायम गरेका छन्, जसले उनलाई विश्व क्रिकेटको उदाउँदो नक्षत्रका रूपमा स्थापित गरेको छ।

वैभवले बनाएका तीन मुख्य रेकर्डहरू यसप्रकार छन्:

१. आईपीएलमा ५०० रन पुरा गर्ने सबैभन्दा कान्छो खेलाडी

वैभव सूर्यवंशी आईपीएल इतिहासमा ५०० रनको आँकडा पार गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। उनले १५ वर्ष २६ दिनको उमेरमा यो सफलता हात पारेका हुन्। यसअघि यो रेकर्ड भारतका पृथ्वी श (१९ वर्ष १६४ दिन) को नाममा थियो। वैभवले निकै कम उमेरमा यो माइलस्टोन पार गरेर सबैलाई अचम्ममा पारेका छन्।

२. बलको सामनाका आधारमा सबैभन्दा छिटो ५०० रन

उमेरमा मात्र होइन, ब्याटिङको गतिमा पनि वैभवले रेकर्ड तोडेका छन्। उनले मात्र २२७ बलको सामना गर्दै ५०० रन पुरा गरे। यसअघि अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले २६० बलमा ५०० रन बनाएको रेकर्ड थियो। वैभवले म्याक्सवेल भन्दा ३३ बल कम खेल्दै यो कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।

३. टी-२० क्रिकेटमा १००० रन पुरा गर्ने विश्वकै कान्छो खेलाडी

सनराइजर्स हैदरावादविरुद्धको खेलमा १०३ रनको विष्फोटक इनिङ्स खेल्ने क्रममा वैभवले टी-२० क्रिकेट (समग्र) मा १००० रन पुरा गरे। १५ वर्ष २९ दिनको उमेरमा १००० टी-२० रन पुरा गर्ने उनी विश्वकै पहिलो खेलाडी बनेका छन्। साथै, उनले ४७३ बलमा १००० रन पुरा गर्दै बलको संख्याका आधारमा पनि विश्वकै सबैभन्दा छिटो हजार रन बनाउने कीर्तिमान बनाएका छन्।

'कार्टुन' हेर्ने बानी र विष्फोटक ब्याटिङ

मैदानमा बलरहरूलाई धुलो चटाउने वैभवले खेलपछिको अन्तर्वार्तामा आफ्नो बालसुलभ स्वभाव पनि देखाएका छन्। उनले भनेका छन्, "म आज पनि म्याच हुनुअघि कार्टुन हेर्ने गर्छु, यो मेरो पुरानो बानी हो।" उनको यो सरल जवाफ अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

१.१ करोड भारुमा राजस्थान रोयल्समा अनुबन्धित भएका वैभवले यस सिजनमा दुई पटक १५ बलमै अर्धशतक प्रहार गरिसकेका छन् भने हैदरावादविरुद्ध ३७ बलमा १०३ रनको सानदार इनिङ्स खेलेका थिए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.