लेख विवरण

ब्याडमिन्टनमा ठूलो परिवर्तन: अब २१ को सट्टा १५ अंकको खेल हुने, २०२७ देखि नयाँ नियम लागू

ब्याडमिन्टनमा ठूलो परिवर्तन: अब २१ को सट्टा १५ अंकको खेल हुने, २०२७ देखि नयाँ नियम लागू

काठमाडौं । विश्व ब्याडमिन्टनमा झण्डै दुई दशकदेखि कायम रहेको स्कोरिङ प्रणालीमा ऐतिहासिक परिवर्तन हुने भएको छ। ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (BWF) ले हाल प्रचलनमा रहेको ३x२१ (२१ अंकका तीन सेट) को प्रणालीलाई विस्थापित गर्दै ३x१५ (१५ अंकका तीन सेट) को नयाँ स्कोरिङ प्रणाली अपनाउने निर्णय गरेको छ।

डेनमार्कको होर्सन्समा शनिबार सम्पन्न बीएफडब्लूको ८७औँ वार्षिक साधारण सभाले यो प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको हो।

नयाँ नियम कहिलेदेखि लागू हुन्छ?

बीएफडब्लूका अनुसार यो नयाँ नियम ४ जनवरी २०२७ देखि विश्वव्यापी रूपमा लागू हुनेछ। सन् २००६ देखि सुरु भएको २१ अंकको 'र्‍याली पोइन्ट' प्रणाली अबको केही महिनापछि इतिहास बन्नेछ।

के परिवर्तन भयो?

  • अंक सीमा: अब एउटा गेम जित्नका लागि २१ अंकको साटो १५ अंक मात्र ल्याए पुग्नेछ।

     विजेता निर्धारण: खेल पहिले झैँ 'बेस्ट अफ थ्री' (तीन मध्ये दुई सेट जित्ने विजेता) नै रहनेछ।
  • डिउस (Deuce): यदि स्कोर १४–१४ को बराबरी भएमा, २ अंकको अग्रता लिनेले जित्नेछ। तर, २०–२० को बराबरी भएको खण्डमा २१औँ अंक ल्याउने खेलाडी नै गेमको विजेता हुनेछ।

    किन गरियो परिवर्तन?

बीएफडब्लूका अध्यक्ष खनयिंग पटमा लेसवद्र्ताकुलका अनुसार यो परिवर्तनका मुख्य कारणहरू यसप्रकार छन्:

१. छिटो र रोमाञ्चक: खेललाई छोटो, तीखो र दर्शकका लागि थप रोचक बनाउन।

२. खेलाडीको स्वास्थ्य: लामो समयसम्म चल्ने खेलका कारण खेलाडीमा हुने थकान र चोटपटकको जोखिम कम गर्न।

३. प्रसारण सहजता: टेलिभिजन र डिजिटल प्लेटफर्ममा खेलको समय निश्चित गर्न सजिलो हुने।

४. नयाँ पुस्ताको आकर्षण: छोटो फम्र्याटका खेलहरूले युवा पुस्तालाई बढी आकर्षित गर्ने विश्वास।

खेलाडीहरूको प्रतिक्रिया

यो निर्णयलाई लिएर ब्याडमिन्टन जगतमा मिश्रित प्रतिक्रिया देखिएको छ। भारतीय स्टार खेलाडी साइना नेहवाल र पीभी सिन्धु लगायतका केही खेलाडीहरूले २१ अंकको प्रणालीमा बढी 'रिदम' र 'रणनीति' हुने भन्दै यसअघि नै चासो व्यक्त गरेका थिए। यद्यपि, बीएफडब्लूले लामो परीक्षण र विश्लेषणपछि मात्र यो निर्णय लिइएको स्पष्ट पारेको छ।

ब्याडमिन्टनको इतिहासमा यो परिवर्तनलाई अहिलेसम्मकै सबैभन्दा ठूलो 'सुधार' को रूपमा हेरिएको छ, जसले खेलको गति र प्रतिस्पर्धाको शैलीलाई नै बदल्ने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.