विश्वकप फ्ल्यासब्याक: लेजर लाइटको त्यो विवाद जसले अल्जेरियालाई नकआउट चरण पुर्यायो
काठमाडौं । विश्वकप फुटबलको महाकुम्भ सुरु हुन अब केही दिन मात्र बाँकी रहँदा फुटबल इतिहासका अनेकन रोचक र विवादास्पद घटनाहरूले फेरि चर्चा पाउन थालेका छन् । यसै सन्दर्भमा सन् २०१४ को ब्राजिल विश्वकपमा घटेको एउटा यस्तो घटनाको स्मरण गरिएको छ, जहाँ फुटबल कौशलभन्दा बढी एउटा 'लेजर लाइट' निर्णायक बनेको थियो ।
के भएको थियो त्यो रात?
सन् २०१४ को विश्वकप अन्तर्गत समूह 'एच' को अन्तिम तथा निर्णायक खेलमा अल्जेरिया र रुस भिडिरहेका थिए । रुसले खेलको छैटौं मिनेटमै अग्रता लिएर अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको थियो । तर, ६० औं मिनेटमा खेलले अनौठो मोड लियो ।
अल्जेरियाले फ्रिकिक पाउँदा रुसी गोलकिपर इगोर अकिनफिभको आँखामा स्टेडियमबाट कसैले हरियो रंगको 'लेजर लाइट' प्रहार गर्यो । लेजरका कारण गोलकिपर अकिनफिभको दृष्टि केही सेकेन्डका लागि धमिलो भयो, जसको फाइदा उठाउँदै अल्जेरियाका इस्लाम सुलिमानीले गोल गरे र खेल १–१ को बराबरीमा पुग्यो ।
ऐतिहासिक तर विवादास्पद बराबरी
त्यही बराबरी गोलको मद्दतले अल्जेरिया इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरण (अन्तिम १६) मा पुग्न सफल भयो भने रुस प्रतियोगिताबाट बाहिरियो । रुसी प्रशिक्षक फाबियो क्यापेलोले खेलपछि लेजर लाइटको कडा विरोध गर्दै भनेका थिए, "हाम्रो गोलकिपरको आँखामा लेजर मारिएको थियो, उनले बल देख्न सकेनन् । यो बहाना होइन, प्रमाण हो ।"
फिफाको कारबाही
यस घटनापछि फिफाले अल्जेरियाली फुटबल महासंघलाई अनुशासन उल्लंघन गरेको भन्दै ५०,००० स्विस फ्र्याङ्क जरिवाना गरेको थियो । सुरक्षा व्यवस्थामा कडा चुनौती थपेको यो लेजर काण्डले फुटबल जगतमा ठूलो बहस सिर्जना गरेको थियो ।
२०२६ को विश्वकप र प्रविधि
आगामी २०२६ को विश्वकपमा सुरक्षा र प्रविधिको प्रयोगलाई लिएर फिफा थप सतर्क देखिएको छ । विगतका यस्ता घटनाहरू नदोहोरिउन् भन्नका लागि यस पटक रंगशालाको सुरक्षा र दर्शकहरूको व्यवहारमा विशेष निगरानी गरिने बताइएको छ । अल्जेरियाको त्यो लेजर काण्ड अझै पनि फुटबल इतिहासमा खेल भावना विपरितको एउटा कालाे अध्यायका रूपमा सम्झिइन्छ ।

टिप्पणी लेख्नुहोस्