लेख विवरण

अमेरिकामा 'नेपाली न्यू इयर कप २०८३' सम्पन्न: नेपाल सियाटल एफसी (Yellow) बन्यो च्याम्पियन

अमेरिकामा 'नेपाली न्यू इयर कप २०८३' सम्पन्न: नेपाल सियाटल एफसी (Yellow) बन्यो च्याम्पियन

सियाटल, अमेरिका ।

अमेरिकाको सियाटलमा भव्यताका साथ आयोजित 'नेपाली न्यू इयर कप २०८३/२०२६' को उपाधि आयोजक टोली नेपाल सियाटल एफसी (Yellow) ले जितेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा सनीभेल फुटबल फोर्स (Sunnyvale Football Force) लाई पराजित गर्दै सियाटलले उपाधि चुमेको हो।

नेपाल सियाटल एफसीको आयोजनामा दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा कुल ११ टोलीको सहभागिता रहेको थियो। जसमा ६ टोली स्थानीय (वाशिंगटन राज्य) र ५ टोली अन्य राज्यहरूबाट सहभागी हुन आएका थिए। बाहिरी राज्यका टोलीहरूको बाक्लो उपस्थितिले प्रतियोगिताको गरिमा र स्तर अझ बढाएको आयोजकले जनाएको छ।

उत्कृष्ट विधामा अवार्ड वितरण

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार र ट्रफीद्वारा सम्मानित गरिएको थियो। नेपाल सियाटल एफसी (Yellow) का डेभ रिजाल प्रतियोगिताको 'मस्ट भ्यालुएबल प्लेयर' (MVP) घोषित भए। उनले २०० डलर पुरस्कार प्राप्त गरे।

अन्य मुख्य विधागत अवार्डहरू (जनही १०० डलर):

  • उत्कृष्ट गोलकिपर: कृष्ण राई (नेपाल सियाटल एफसी Yellow)

  • उत्कृष्ट डिफेन्डर: भरत मोङ्गर (नेपाल सियाटल एफसी Yellow)

  • उत्कृष्ट मिडफिल्डर: डेभ रिजाल (नेपाल सियाटल एफसी Yellow)

  • उत्कृष्ट स्ट्राइकर: प्रतिक राउत (सनीभेल एफएफ)

  • राइजिङ प्लेयर अफ द टूर्नामेन्ट: भानु राउत (सनीभेल एफएफ)

प्लेयर अफ द म्याच (क्वाटरफाइनल र सेमिफाइनल):

क्वाटरफाइनलमा भानु राउत, राजेश राई, आर्याभ अधिकारी र उरेकेन शेर्पाले जनही ५० डलरसहित 'प्लेयर अफ द म्याच' अवार्ड जिते। त्यस्तै, सेमिफाइनलमा सनीभेलका प्रतिक राउत र सियाटलका रोजिन प्रजापति उत्कृष्ट घोषित भए भने फाइनलको 'प्लेयर अफ द म्याच' डेभ रिजाल बने।

अनुशासनमा कडाइ

खेललाई मर्यादित र सुरक्षित बनाउने उद्देश्यका साथ आयोजकले अनुशासनमा विशेष जोड दिएको छ। खेलाडी र दर्शकको सुरक्षामा आँच पुऱ्याउने गतिविधिमा संलग्न रहेको भन्दै एक टोलीलाई आगामी प्रतियोगिताहरूमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको आयोजकले जानकारी दिएको छ।

आयोजकको आभार

नेपाल सियाटल एफसीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, प्रायोजक, स्वयंसेवक र प्रशंसकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। "समुदायको साथ र खेलाडीहरूको खेलप्रतिको लगावका कारण यो कार्यक्रम हरेक वर्ष अझ सशक्त बन्दै गएको छ," आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.