एनभिए भलिबल लिग: विभागीय टोली आर्मी र एपिएफ स्तब्ध, रुकुमपश्चिम र खिल्जीको सनसनीपूर्ण जित
काठमाडौँ, वैशाख १७ राजधानीमा जारी १०औँ पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा बिहीबार अप्रत्याशित नतिजाहरू निस्किएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पुरुषतर्फको प्रतिस्पर्धामा दुई विभागीय शक्तिहरू त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब पराजित हुन पुगेका छन् ।
आर्मीमाथि रुकुमपश्चिमको दबदबा
बिहीबारको मुख्य आकर्षण बनेको खेलमा रुकुमपश्चिम भलिबल क्लबले उपाधि दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पाखा लगायो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रुकुमपश्चिमले सुरुवाती दुई सेट २५–२२ र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा आर्मीले २९–३१ को रोमाञ्चक पुनरागमन गरे पनि चौथो सेट २५–२१ ले गुमाउँदै हार स्वीकार गर्न बाध्य भयो । यस जितसँगै ६ खेल खेलेको रुकुमपश्चिम १५ अङ्कका साथ बलियो स्थितिमा पुगेको छ भने आर्मीको ११ अङ्क मात्र रहेको छ ।
खिल्जीको ऐतिहासिक जित, एपिएफ पराजित
अर्को खेलमा खिल्जी युवा क्लबले बलियो विभागीय टोली नेपाल एपिएफ क्लबलाई स्तब्ध बनायो । पहिलो सेट २१–२५ ले गुमाएको खिल्जीले त्यसपछिका तीनै सेट २५–२२, २५–२३ र २५–२१ ले जितेर विभागीय टोलीलाई निराश बनायो । ६ खेलबाट खिल्जीले महत्त्वपूर्ण अङ्क जोड्दा एपिएफको समान खेलबाट ३ अङ्क मात्र रहेको छ ।
त्यसैगरी, दिनको अर्को खेलमा कोशी प्रदेशले बुढानीलकण्ठ भलिबल क्लबलाई पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ । पहिलो सेट गुमाएर पनि उत्कृष्ट पुनरागमन गरेको कोशीले २०–२५, २५–१५, २५–१७ र २६–२४ को जित निकाल्दै ३ अङ्क जोडेको छ । बुढानीलकण्ठ भने अङ्कविहीन छ ।
महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
महिलातर्फको समीकरण भने प्रस्ट भइसकेको छ । उत्कृष्ट प्रदर्शन गर्दै न्यु डायमन्ड र नेपाल पुलिस क्लबले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ गरी कुल १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
पुरस्कार राशी र समापन
नेपाल भलिबल सङ्घको आयोजनामा वैशाख १९ गतेसम्म चल्ने यस लिगको कुल लागत १ करोड १५ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

टिप्पणी लेख्नुहोस्