लेख विवरण

कीर्तिपुरमा वर्षाले खेल रोकियो: २९० रनको लक्ष्य पछ्याएको युएईको मध्यम सुरुवात

कीर्तिपुरमा वर्षाले खेल रोकियो: २९० रनको लक्ष्य पछ्याएको युएईको मध्यम सुरुवात

काठमाडौं (कीर्तिपुर) । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको १००औँ ऐतिहासिक खेल वर्षाका कारण प्रभावित भएको छ। नेपालले प्रस्तुत गरेको २९० रनको विशाल लक्ष्य पछ्याउने क्रममा युएईले ४.१ ओभर ब्याटिङ गरेपछि वर्षा सुरु भएपछि खेल रोकिएको हो।

युएईको जवाफी ब्याटिङ

जितका लागि २९० रनको लक्ष्य पछ्याइरहेको युएईले खेल रोकिनुअघि ४.१ ओभरमा १ विकेट गुमाएर ३६ रन जोडेको छ। युएईलाई अहिले पनि जितका लागि ४५.५ ओभरमा २५४ रनको आवश्यकता छ। हाल युएईको रन रेट ८.६४ रहेको छ भने उसलाई प्रति ओभर ५.५४ को रन रेट आवश्यक छ।

नेपालको मजबुत स्कोर

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ९४ बलमा १०० रनको सानदार शतकीय इनिङ खेलेका थिए। त्यस्तै विनोद भण्डारीले ५६ रन र गुलशन झाले ४४ रनको योगदान दिएका थिए।

अहिले कीर्तिपुरमा पानी परिरहेको कारण खेल रोकिएको छ। यदि वर्षा रोकिएर खेल पुनः सुरु हुन सकेमा नेपालले बलिङमार्फत युएईलाई दबाबमा राख्ने प्रयास गर्नेछ। खेलको नतिजाका लागि डिएल (DLS) मेथडको सम्भावना पनि वर्षाको समयमा निर्भर रहनेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.