यूईएफए युरोपा लिग: इन्जुरी समयको गोलले ब्रागालाई दिलायो फ्राइबर्ग विरुद्ध रोमाञ्चक जित
काठमाडौं । यूईएफए युरोपा लिग २०२५-२६ सेमिफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब ब्रागाले जर्मन टोली फ्राइबर्गमाथि २-१ को रोमाञ्चक जित निकालेको छ। घरेलु मैदान एस्टाडियो म्युनिसिपल डे ब्रागामा बिहीबार राति भएको खेलमा इन्जुरी समयमा मारियो डोर्गेलेसले गरेको गोल निर्णायक बन्यो।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्रागाले आठौं मिनेटमा डेमिर एगे तिकनाजको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो। उनले भिक्टर गोमेजको सटिक पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए।
तर, ब्रागाको यो अग्रता धेरै बेर टिक्न सकेन। खेलको १६ औं मिनेटमा फ्राइबर्गका कप्तान भिन्सेन्जो ग्रिफोले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। जान-निक्लास बेस्टेको काउन्टर अट्याक मुभमा ग्रिफोले गोल गरेका थिए।
पहिलो हाफको अन्त्यतिर ब्रागाले पुनः अग्रता लिने सुवर्ण अवसर पाएको थियो। रेफ्री एन्थोनी टेलरले भिएआरको सहयोगमा ब्रागालाई पेनाल्टी प्रदान गरेका थिए। तर, रोड्रिगो जालाजारको पेनाल्टी प्रहारलाई फ्राइबर्गका गोलकिपर नोह अटुबोलुले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए।
दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि फिनिसिङमा चुकेका थिए। खेल बराबरीमा सकिने अनुमान गरिरहँदा इन्जुरी समयको दोस्रो मिनेट (९०+२') मा मैदान छिरेका विकल्प खेलाडी मारियो डोर्गेलेसले गोल गर्दै ब्रागालाई महत्वपूर्ण जित दिलाए। गोलकिपर अटुबोलुले बल नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा डोर्गेलेसले गोल गरेका थिए।
यो जितसँगै ब्रागाले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। अब यी दुई टोलीबीचको दोस्रो लेग मे ७ मा फ्राइबर्गको मैदानमा हुनेछ। यस खेलको विजेताले फाइनलमा नटिङ्घम फरेस्ट वा एस्टन भिल्लामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

टिप्पणी लेख्नुहोस्