नवौं अन्तर्राष्ट्रिय भरौल गोल्डकपमा आरटी एफसी मलेसियाको सहभागिता
सुनसरी । सुनसरीको बराहक्षेत्र–५, कलाबञ्जारस्थित ज.डे.जे. भरौल खेल मैदानमा सञ्चालन हुन लागेको ‘नवौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप २०२६’ मा आरटी एफसी, मलेसियाले सहभागिता जनाउने भएको छ।
आगामी चैत २३ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपाल, भारत र मलेसियाका क्लबहरूको सहभागिता रहनेछ। विशेषगरी विदेशी टोलीका रूपमा आरटी एफसी, मलेसियाको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
खेल तालिकाअनुसार आरटी एफसी, मलेसियाले आफ्नो पहिलो खेल चैत २४ गते यङ ब्रदर्स क्लब, सुनसरीविरुद्ध खेल्नेछ। उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।
विदेशमा रहेर पनि नेपाली खेलकुद गतिविधिमा सक्रिय आरटी एफसी मलेसियाले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। यसपटक भरौल गोल्डकपमा सहभागिताले टोलीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने राम्रो अवसर मिल्ने विश्वास गरिएको छ।
प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्