लेख विवरण

नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनी अल स्टारको विजयी सुरुवात

नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनी अल स्टारको विजयी सुरुवात

काठमाडौं । नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिगमा लुम्बिनी अल स्टारले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज (शनीवार) भएको खेलमा लुम्बिनीले फार वेस्ट युनाईटेडलाई ६७ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा फार वेस्ट युनाईटेडको टोली १६.२ ओभरमा ८५ रन बनाउदै अलआउट भयो । लुम्बिनीको कप्तान दिपेन्द्र सिंह ऐरिले सर्वाधिक ३ विकेट लिए । सागर ढकालले २ विकेट लिए । प्याट ब्राउन, किशोर महतो र बिपुल शर्माको नाममा एक एक विकेट रह्यो । फार वेस्टका लागि कप्तान हस्मुतल्लाह शाहिदीले सर्वाधिक ३५ रन बनाए । बिनोद भण्डारी १३ रन बनाएर आउट हुँदा टोलीका अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउदै १५२ रन बनाएको थियो । टोलीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ६० रन बनाए । अर्धसतक प्रहार गरेका लाहिरुले ५० बलमा १ छक्का र ८ चौंकाको मद्दतले ६० रन बनाए । लुम्बिनीका कप्तान दिपेन्द्र सिंह ऐरिले ३५ रन बनाए । बिपुल शर्मा १२ र गुलशन झाले २५ रन बनाए ।

बलिङमा फार वेस्ट युनाईटेडका लागि उमर अलीले र करण केशीले समान ३-३ विकेट लिए ।

पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स पोखरा रेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ फ्रेन्चाइज टोली सहभागी छन् ।

डबल राउन्ड रोविनको आधारमा जारी प्रतियोगिताको विजेता टोलीले ५५ लाख रुपियाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदयीमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.