Article detail

सुपर सिक्सको अन्तिम खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई ८ विकेटले हरायो

सुपर सिक्सको अन्तिम खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई ८ विकेटले हरायो

काठमाडौंँ । एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा श्रीलंकाले आफ्नो अपराजित यात्रा जारी राखेको छ। सुपर सिक्सको अन्तिम खेलमा टोलीले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ ।

जारी प्रतियोगितामा श्रीलंकाको यो सातौं जित हो। टोलीले अहिलेसम्म एक खेल पनि हारेको छैन । प्रतियोगिताको फाइनलमा अब श्रीलंकाले नेदरल्याण्ड्सको सामना गर्नेछ । फाइनल खेल जुलाई ९ तारिखका दिन हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।

शुक्रबार भएको खेलमा श्रीलंकाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४८.१ ओभरमा सबै विकेट गुमाएर २४३ रन बनाएको थियो । २४४ रनको लक्ष्य श्रीलंकाले ४४.२ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो । खेलको प्लेयर अफ दि म्याच श्रीलंकाका अफ स्पिनर महिश टिक्षाना भए । उनले १० ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजको सुरुवात राम्रो हुन सकेन । टोलीले ३६ रनमा पहिलो विकेट गुमाएको थियो । ओपनर ब्रान्डन किङ १० रन बनाएर महिष टिक्षानाको बलमा बोल्ड भए । त्यसपछि शरमार्ह ब्रुक्स २ रन बनाएर प्याभिलियन फर्किए । उनलाई पनि टिक्षानाले आउट बनाए । टिक्षानाले कप्तान शाइ होपलाई पनि २ रनको स्कोरमा प्याभिलियनको बाटो देखाए । यस्तो अवस्थामा वेस्ट इन्डिज टोलीको शीर्ष र मध्यक्रम दबाबमा परेको थियो । टोलीले ८१ रनमा ५ विकेट गुमाएको थियो ।

त्यसपछि किसी कार्टीले ८७ रनको इनिङ खेल्दै वेस्ट इन्डिजलाई सम्मानजनक स्कोरमा पुर्याए । तल्लो क्रममा रोमारियो शेफर्डले २६ र केभिन सिन्क्लेयरले २५ रनको योगदान दिएर टोलीको स्कोर २४३ रनमा पुर्याए ।

श्रीलंकाका अफ स्पिनर महिश टिक्षानाले ३४ रन खर्चेर चार विकेट लिए । दसुन हेमन्तले दुई विकेट लिए । दिलशान मदुशंका, दासुन शनाका, मथिश पाथिराना र सहान अरचिगेले एक एक विकेट लिए ।

२४४ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाका ओपनर पाथुम निसान्काले आफ्नो करियरको तेस्रो शतक प्रहार गरे । उनलाई साथ दिन आएका दिमुट करुणारत्नेले पनि अर्धशतक बनाए । यी दुईबीच २०१ बलमा १९० रनको ओपनिङ साझेदारी भयो । निसान्काले १०४ र करुणारत्नेले ८३ रन बनाए । कुसल मेन्डिसले अविजित ३४ र सधीरा समरविक्रमले अविजित १७ रनको योगदान दिए ।

वेस्ट इन्डिजका अकिल हुसेन र केभिन सिन्क्लेयरले समान १–१ विकेट लिए ।

Write A Comment

Please Login to comment.