Article detail

इमर्जिङ टिम्स एसिया कप : नेपालको दोस्रो विकेट पतन

इमर्जिङ टिम्स एसिया कप : नेपालको दोस्रो विकेट पतन

काठमाडौंँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भारतविरुद्ध टस जितेर ब्याटिङ गर्दैछ । ब्याटिङ गरेको नेपालले दोस्रो विकेट पनि गुमाएको छ । ओपनर आसिफ शेख ७ रन बनाएर आउट भएका छन । उनी राजवर्धन हांगरगेकरको बलमा विकेटकिपर ध्रुव जुरेलको हातबाट क्याच आउट भए । उसअघि ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भएका थिए । उनी हर्षित राणाको बलमा एलबीडब्लु भएका थिए ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो । पाकिस्तानसामु कमजोर देखिएको नेपाललाई भारतलाई पन्छाउन सक्नु ठूलो चुनौती हुनेछ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित भएको थियो । नेपालले दिएको एक सय ८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

प्रतियोगिताको समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान रहेका छन् । एसियाका आठ टोली सहभागि प्रतियोगितामा राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका छन् ।

नेपालले तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । यस प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता रहेको छैन ।

नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रुपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

भारतविरुद्ध नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, देव खनाल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, ललितनारायण राजवंशी र किशोर महतो ।

 

Write A Comment

Please Login to comment.