ललितपुर मेयर महिला च्याम्पियनसिप : एपिएफले बागमतीलाई ८ विकेटले हरायो
काठमाडौंँ । राजधानीमा जारी ललितपुर मेयर महिला च्याम्पियनसिप अन्तर्गत सोमवार (आज) सम्पन्न पहिलो खेलमा बिभागिय टोली एपिएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा बागमतीले दिएको ७४ रनको लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा ओपनर ममता चौधरीले ३५ रनको अविजित पारी खेलिन । त्यस्तै इन्दु बर्मा (१७) र कप्तान सिता राना मगरले (११) रन बनाए । राजमती ऐरि (१०) रनमा अविजित रहिन । बागमतीका लागि खुशी डंगोलले १ विकेट लिइन ।
यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै ७३ रन बनाएको थियो । टोलीका लागि हेलिशा गुरुङ (३१) र खुशी डंगोलले अविजित (१४) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । एपिएफका लागि करुणा भण्डारीले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिइन । त्यस्तै सिता राना मगरले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन ।
प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेल कोशी र सुदुरपश्चिम प्रदेशबीच जारी छ ।
Write A Comment