लेख विवरण

आईपिएल २०२६: प्लेअफअघि आरसिबीलाई ठूलो झट्का, फिल साल्ट स्वदेश फर्किए

आईपिएल २०२६: प्लेअफअघि आरसिबीलाई ठूलो झट्का, फिल साल्ट स्वदेश फर्किए

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२६ को निर्णायक चरण नजिकिँदै गर्दा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) लाई ठूलो झट्का लागेको छ। टोलीका आक्रामक ओपनर फिल साल्ट औंलाको चोटका कारण स्क्यानिङका लागि इंग्ल्याण्ड फर्किएका छन्।

इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) को आग्रहमा साल्ट थप उपचार र परीक्षणका लागि स्वदेश फर्किएका हुन्। सिजनको सुरुवाती खेलका क्रममा बाउन्ड्री लाइनमा फिल्डिङ गर्दा उनको देब्रे हातको औंलामा चोट लागेको थियो। साल्टले यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै ६ इनिङ्समा १६० भन्दा बढीको स्ट्राइक रेटमा २०२ रन बनाएका थिए।

साल्टको अनुपस्थितिमा आरसिबीले विराट कोहलीसँग ओपनिङका लागि जेकब बेथेललाई मैदान उतारेको छ। यद्यपि, साल्टले जस्तो विष्फोटक सुरुवात दिलाउन नयाँ जोडीलाई कठिन भइरहेको छ।

अघिल्लो सिजनको विजेता आरसिबी हाल अङ्क तालिकाको दोस्रो स्थानमा छ र प्लेअफमा स्थान सुरक्षित गर्ने दाउमा छ। टोली व्यवस्थापनले साल्ट प्लेअफ अगावै टोलीमा फर्कने आशा व्यक्त गरे पनि उनको पुनरागमन स्क्यानिङको नतिजामा निर्भर रहनेछ। साल्टको अनुपस्थितिले आरसिबीको ब्याटिङ अर्डर र फिल्डिङको सन्तुलनमा समेत असर पर्न सक्ने देखिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.