लेख विवरण

फुटबल प्रशिक्षकले ज्योतिषीको सल्लाहमा खेलाडी छनोट गरेको खुलासा

फुटबल प्रशिक्षकले ज्योतिषीको सल्लाहमा खेलाडी छनोट गरेको खुलासा

काठमाडौंँ । भारतीय फुटबल टोलीका प्रशिक्षक इगोर स्टिम्याकले एक ज्योतिषीको सल्लाहमा खेलाडी छनौट गर्ने गरेको खुलासा भएको छ । सन् २०२२ जुन ९ मा भारतले एसिया कप छनोट अन्तर्गत अफगानिस्तानको सामना गर्नु ४८ घण्टा अघि, राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक स्टिम्याकले दिल्ली एनसीआरका ज्योतिषी भूपेश शर्मालाई म्यासेजमा खेलाडीहरुको सूची पठाएका थिए, जसमा खेलका ११ सम्भावित खेलाडीहरूको नाम राखिएको थियो ।

प्रशिक्षक स्टिम्याकलाई ज्योतिषीसँग अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) का एक अधिकारीले परिचय गराएको द इन्डियन एक्सप्रेसले जनाएको छ । रिपोर्टका अनुसार केही घण्टाभित्रै ज्योतिषीले हरेक नामको जवाफ पठाएका थिए । उनले यो सूचीमा केही खेलाडीले राम्रो गर्न सक्ने, केहीलाई धेरै आत्मविश्वासबाट बच्न सल्लाह दिएका थिए । साथै केहीका लागि ग्रह-नक्षत्रहरू सही नभएको ज्योतिषीले स्टिम्याकलाई बताएका थिए ।

भारतीय टोली जुन ११ मा खेल सुरु हुनुभन्दा एक घण्टा अघि घोषणा गरिएको थियो, त्यो ज्योतिषीकै सल्लाह अनुसार गरिएको थियो । त्यसबेला दुई ठूला खेलाडीहरूले टोलीमा स्थान पाएका थिएनन्, किनकि उनीहरूको ग्रह-नक्षत्र अनुकूल थिएनन्, अर्थात् उनीहरूको दिन उत्तम थिएन ।

द इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार, स्टिम्याक र ज्योतिषीले सन् २०२२ मे र जुन महिनामा लगभग एक सय भन्दा बढी पटक म्यासेजहरु आदानप्रदान गरेका थिए । भारतले यस अवधिमा चार खेल खेलेको थियो । टोलीले जोर्डनविरुद्ध एक मैत्रीपूर्ण कम्बोडिया, अफगानिस्तान र हङकङविरुद्ध एसिया कप छनोट खेलेको थियो । हरेक खेल अघि स्टिमकले ज्योतिषीलाई म्यासेजमार्फत सम्पर्क गरेका थिए ।

प्रत्येक खेल अघि, स्टिम्याकले आफ्नो टोलीलाई अन्तिम रूप दिनु अघि ज्योतिषीबाट जानकारी लिन्थे र खेलाडीहरूको चोटपटकको अपडेटहरूका साथै सब्स्टीट्यूशन स्ट्राटजी पनि शेयर गर्ने गरेका थिए ।

एक कुराकानीमा स्टिमकले लेखेका छन्, "हाय डियर भूपेश, तपाईंसँग छलफल गर्न पाउँदा म खुसी छु! म तपाईंलाई यी खेलाडीहरूको बारेमा राय दिन अनुरोध गर्दछु।" उनले चार खेलाडीको जन्म मिति, समय र स्थान शेयर गरे, जसमध्ये तीन जनाले सन् २०१७ फिफा यू-१७ विश्वकपमा भारतको प्रतिनिधित्व गरेका थिए ।

अफगानिस्तानविरुद्धको खेलको एक दिनपछि जुन १२ मा ज्योतिषीले स्टिम्याकलाई सन्देश पठाए, "जब तपाईं फ्रि हुनुहुन्छ, मलाई बताउनुहोस् कि हामीले चयन गरेका खेलाडीहरू कस्तो खेलेका थिए ?"

स्टिम्याकले जवाफ दिए, "सबै कुरा एकदमै राम्रो थियो, हामी भेट्दा म तपाईंलाई यसको बारेमा बताउने छु ।" अर्को दिन दिउँसो स्टिम्याक र ज्योतिषीले हङकङविरुद्ध भारतको प्लेइङ-११ खेलको बारेमा छलफल गर्न भेटे । र भारतले त्यो खेल जित्दै एसिया कपको लागि छनोट भयो ।

यो कुराकानीको बारेमा थाहा पाएपछि इन्डियन एक्सप्रेसले, ज्योतिषी भूपेशलाई सम्पर्क गर्ने प्रयास गर्यो, तर उनले कल र म्यासेजहरूको जवाफ दिएनन् । त्यस समयमा अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) का अध्यक्ष रहेका प्रफुल्ल पटेलले इन्डियन एक्सप्रेसलाई यो बिषयमा बुझ्न खोज्दा उनले आफुलाई जनाकारी नभएको बताए । तर एआईएफएफका पूर्व महासचिव कुशल दासले सन् २०२२ मे महिनामा ज्योतिषी भूपेश शर्मासँग प्रशिक्षक स्टिमकलाई परिचय गराएको स्वीकार गरे ।

"मैले भूपेश शर्मा (ज्योतिषी) लाई एक बैठकमा भेटेको थिएँ," कुशल दासले इन्डियन एक्सप्रेसलाई भने । "उनले धेरै टेलिकम कम्पनी र बलिउडका सेलिब्रेटीहरूको लागि काम गरेका थिए । त्यसपछि उनले मलाई कुराकानीको क्रममा ग्रहले मानिसहरू सही निर्णय लिन प्रेरित गर्न मद्दत गर्ने बताएका थिए ।"

"स्टिम्याक र म भारत एसिया कपका लागि छनोट हुन सक्छ कि सक्दैन भन्ने चिन्तामा थियौं । मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भारतले एसिया कपमा स्थान बनाउनु थियो । त्यसैले मैले ज्योतिषीलाई भनेँ कि म तपाईंलाई प्रशिक्षकसँग सम्पर्क गराउने छु।"

दासले भने, "हामीले दुई महिनासम्म उनको सेवा प्रयोग गर्यौं, जसको लागि हामीले उनलाई १२-१५ लाख रुपैयाँ दियौं । भारतले एसिया कपका लागि छनोट गरिसकेको छ त्यसैले यो ठूलो रकम होइन ।"

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.