लेख विवरण

अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि खानीखोलालाई

अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि खानीखोलालाई

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाव्यापी अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिकाले जितेको छ । शनीवार सम्पन्न फाइनल खेलमा खानीखोलाले महाभारत गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पनौती नगरपालिका–२ धाराचौर खेल मैदानमा सम्पन्न फाइनलमा खानीखोलाले महाभारतलाई २६–२४, २५–१ र २५–१९ अङ्कले हराएको हो । उक्त खेलमा खानीखोलाका मनराज आलेमगर ‘म्यान अफ दी म्याच’ घोषित भए । यसअघि शुक्रबार सम्पन्न सेमिफाइनलमा खानीखोला र महाभारत गाउँपालिका आ–आफ्नो खेलमा विजयी हुँदै फाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनलमा खानीखोलाले पनौती नगरपालिका र महाभारतले बेथानचोक गाउँपालिकालाई पराजित गरेको थियो ।

पनौती नगरपालिका–२ द्वारा आयोजित प्रतियोगिताको समापन समारोहमा नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वा, वडाध्यक्ष एवं प्रयोगियोगिता संयोजक पुरुषोत्तम अधिकारीलगायतले प्रथम, द्वितीय तथा तृतीय टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रथम हुने टोलीलाई रु ५५ हजार, दोस्रोलाई रु ३० हजार तथा तेस्रो, चौथोलगायत विभिन्न विधाका उत्कृष्टलाई रु १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.