अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल : बगरभाइ खलक सेमिफाइनलमा
गण्डकी । पाँचौँ स्व रञ्जित गुरुङ स्मृति तथा ११औँ बगरभाइ खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताअन्तर्गत बगरभाइ खलक हरियो टिम सेमिफाइनलमा प्रवेश गरेको छ । पोखराको टुँडीखेलमा जारी प्रतियोगितामा पूर्वराष्ट्रिय खेलाडी ईश्वर ‘चन्द्र’को उत्कृष्ट प्रदर्शनमा आयोजक टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त प्रतियोगिताअन्तर्गत आज भएको क्वार्टरफाइनल खेलमा पाहुना टोली भनिमण्डल ललितपुरलाई २–० ले पराजित गर्दै बगरभाइ खलकले अन्तिम चारणमा स्थान पक्का गरेको हो ।
टिमका लागि म्यान अफ दि म्याचसमेत रहेका ईश्वर र प्रकाश गुरुङले समान १–१ गोलको योगदान दिए । सेमिफाइनलमा बगरभाइ खलकले आफ्नै घरेलु टोली एबिसी भेट्रान्स ‘ए’को सामना गर्नेछ । पोखराको घरेलु टिम एविसी भेट्रान्स ‘ए’ले पाहुना टिम हेटौँडा रातोलाई टाइब्रेकरमा ३–१ ले पन्छ्याउँदै आयोजकसँग अन्तिम चारमा भिडन्त पक्का गरेको छ ।
निर्धारित समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । उक्त खेलमा एबिसीका गोलकिपर सूर्यप्रसाद शर्माले विपक्षी टिमको प्रहार जोगाउँदै म्यान अफ दि म्याच भएका हुन् । ‘स्वास्थ्यका लागि दैनिक एक घण्टा अनिवार्य व्यायाम गराँै’ भन्ने उद्घोष गर्दै ४० वर्षदेखि ६५ वर्षको उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पिँढीलाई खेलकूदप्रति अभिरुचि जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ सुरु भएको प्रतियोगितामा एकअर्को खेलमा ललितपुरको टि वर्गर सेमिफाइनल प्रवेश गरेको छ ।
खुमलटार काठमाडाँंसँग निर्धारित समयमा कुनै गोल नभएपछि टाइब्रेकरमा टि वर्गर २–१ ले जित्दै सेमिफाइनल प्रवेश गरेको हो । उक्त खेलमा गोलकिपर मीनबहादुर बस्नेतले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई सेमिफाइनलमा पु¥याएका हुन् । बस्नेत म्यान अफ दि म्याच घोषित भए । टि वर्गरले हेटौँडाको नागसोती भेट्रान्सको सामना गर्नेछ । नागसोतीले बुटवल भेट्रान्ससँग टाइब्रेकरमा नै ४–३ ले जित्दै टि वर्गरसँग भिड्ने भएको हो । उक्त खेलमा बुटवलका सञ्जिव खड्की म्यान अफ दि म्याच घोषित भएका थिए ।
भेट्रानको संस्थागतरूपमा नेपालमै पहिलो पटक सुरु भएको उक्त प्रतियोगितामा उपाधि विजेताले रु एक लाख ५१ हजार १११ सहित रनिङ शिल्ड, पदक र प्रमाणपत्र, उपाविजेताले नगद रु ७५ हजार ५५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफीसहित जनही नगद पाँच हजार दिइनेछ भने सेमिफाइलन पुग्ने दुई टिमलाई जनही नगद रु १० हजार उपलब्ध गराइने छ । साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित नगद रु १० हजार प्रदान गरिनेछ ।
संस्थाका रमेश श्रेष्ठका अनुसार रु २० लाख खर्च र २१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको प्रतियोगिताको विगत वर्षमा झैँ यस वर्ष पनि सहारा युकेले द्वितीय पुरस्कार रु ७५ हजार ५५५ प्रायोजन गरेको छ भने नेपालको चौधरी गु्रपसमेतले सहप्रायोजन गरेको छ ।

टिप्पणी लेख्नुहोस्