अन्तर विद्यालय टी २० क्रिकेटमा नवोदय र जिएसको विजयी शुरुवात
हेटौंडा । मकवानपुर क्रिकेट संघको आयोजनामा हेटौडामा सुरु भएको निरज श्रेष्ठ स्मृति जिल्ला स्तरिय अन्तर विद्यालय टी २० क्रिकेट प्रतियोगितामा नवोदय शिशु सदन र जिएस निकेतनले विजयी सुरुवात गरेका छन् । विहीबार भएको उदघाटन खेलमा नवोदय शिशु सदनले कमाने एकेडेमीलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कमाने एकेडेमी निर्धारित २० ओभरको खेलमा १३.२ ओभरमै २९रन बनाएर अल आउट भयो । कुनैपनि खेलाडीले दोहरो अंकमा खाता खोल्न नसकेको कमानेको लागि बिप्सन चौँलागाइले सर्वाधिक ९ रन बनाए । टोलीका ४ खेलाडीहरु शुन्य रनमा आउट भए । बलिङमा नवोदयका लागि अजल मानन्धरले सर्वाधिक ३ विकेट लिए । निर्भिक ज्ञवालीले २ विकेट लिदा रोनश उप्रेती, लक्क्षित भट्टराई र चिराग डंगोलको नाममा एक विकेट रह्यो ।
नवोदयले ३० रनको सामान्य लक्ष्य ७.२ ओभरमा २ विकेट गुमाउदै पुरा गर्यो । टोलीका लागि ओपनर प्रमित कोइरालाले अविजित २२ रन बनाए । राज खतिवडा २ रनमा आउट हुँदा लक्षीत ३ रनमा अविजित रहे । खेलको म्यान अफ द म्याच नवोदयका अजल मानन्धरले पाए ।
बिहीवारनै भएको दोस्रो खेलमा जिएस निकेतनले सिद्धार्थ माध्यमिक विद्यालयलाई १२० रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जिएसले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै २०५ रन बनायो । टोलीका लागि ओपनर अशोक यादवले ६३ बलमा १ सय ७ रनको सतकीय पारी खेले । यस क्रममा उनले आठ छक्का र ३ चौंका प्रहार गरे । आदित्य शाहले १९ रन बनाउदा कृष्ण यादव, कुणाल गुप्ता र सिजन अधिकारीले समान १० रन बनाए । सिद्धार्थका लागि बलिङमा रवि चौधरी र रिक्की यादवले समान २ विकेट लिए ।
जिएसले दिएको १ सय २१ रनको विशाल लक्ष्य पछ्याएको सिद्धार्थ १४.३ ओभरमा पूरै विकेट गुमाउँदै ८५ रनमा रोकियो । टोलीका लागि रिक्की यादव (२२), जय सूर्य यादव (१८) र गुड्डु यादवले (१३) रन बनाए । अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । सिद्धार्थलाई ८५ रनमा रोक्न जिएसका अशोक यादव, अनिश यादव, अजय चौधरी र आदित्य सिंहले समान २ विकेट लिए । आदित्य साहले एक विकेट लिए । खेलको म्यान अफ द म्याच सतकीय पारी खेलेका अशोक यादव भए ।
यसअघि प्रतियोगिताको उदघाट्न मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, जिल्ला खेलकुद विकास समिति मकवानपुरका प्रमुख माधव कोइराला, नेपाल क्रिकेट संघका केन्दीय सदस्य करण महत्रा क्षेत्री, प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर क्रिकेट संघका पूर्व कप्तान स्वर्गीय निरज श्रेष्ठको स्मृतीमा सुरु भएको प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाएका छन । लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगिताको फाइनल मंसीर १ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उप विजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ ।

टिप्पणी लेख्नुहोस्