अफगानिस्तानलाई ५ सय ४६ रनले हराउँदै बंगलादेशले रच्यो इतिहास
काठमाडौंँ । बंगलादेशले अफगानिस्तानविरुद्ध रनको हिसाबले सबैभन्दा ठूलो जित हासिल गरेको छ । अफगानिस्तान र बंगलादेशबीच ढाकाको शेरे बंगला रंगशालामा भएको एकमात्र टेस्टमा घरेलु टोलीले ५ सय ४६ रनको विशाल जित दर्ता गर्दै इतिहास रचेको हो । खेलमा सुरुदेखि नै बलियो देखिएको बंगलादेशले अफगानिस्तानलाई जितका लागि ६६२ रनको ठूलो लक्ष्य दिएको थियो । तर पाहुना टोली दोस्रो इनिङ्समा मात्र ११५ रन बनाएर अलआउट भएको थियो । खेलको नायक बंगलादेशका नजमुल हुसेन शान्तो भए । उनले खेलको दुवै इनिङ्समा शतक प्रहार गर्दै म्यान अफ द म्याचको उपाधि पनि जिते ।
खेलमा अफगानिस्तानले टस जितेर बंगलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । घरेलु टोलीले पहिलो इनिङ्समा ३ सय ८२ रन जोडेपछि जवाफमा अफगानिस्तानको टोली पहिलो इनिङ्समा ३९ ओभरमा १४६ रन बनाएर अलआउट भयो। पहिलो इनिङ्सको आधारमा बंगलादेशले खेलमा २३६ रनको अग्रता लिएको थियो ।
आयोजक बंगलादेशले चार विकेट गुमाएर ४२५ रन बनाउदै दोस्रो इनिङ्स घोषणा गर्यो । र पाहुना टोली अफगानिस्तानलाई ६६२ रनको ठूलो लक्ष्य दियो । आफ्नो पहिलो इनिङ्स जस्तै अफगानी टोलीले दोस्रो इनिङ्समा पनि बंगलादेशसँग लज्जास्पद हार बेहोरेको थियो र पूरा टोली मात्र ११५ रन बनाएर अलआउट भयो। यसरी बंगलादेशले खेलमा ५ सय ४६ रनको ठूलो जित दर्ता गर्न सफल भयो ।
खेलमा बंगलादेशका नजमुल हुसेन शान्तोले दुवै इनिङ्समा उत्कृष्ट ब्याटिङ गर्दै दुई शतक प्रहार गरेका थिए । उनले पहिलो इनिङ्समा १ सय ७५ बलमा २३ चौकाको मद्दतले १४६ रन बनाएका थिए । दोस्रो इनिङ्समा शान्तोले १ सय ५१ बलमा २७० रन बनाएका थिए ।

टिप्पणी लेख्नुहोस्