अफगानिस्तान टी–२० विश्वकपबाट बाहिर, सेमिफाइनलमा श्रीलंकाको सम्भावना कायमै
काठमाडौं । टी–२० विश्वकपको ३२औं खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको छ । ब्रिस्बेनको गाब्बा मैदानमा भएको समूह–१ को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा १४४ रन बनायो । जवाफमा श्रीलंकाले १९ औं ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । श्रीलंकाको जितका नायक धनन्जय डी सिल्भा बने । उनले अविजित अर्धशतक बनाएर टोलीलाई जित दिलाए । धनन्जयले ४२ बलमा अविजित ६६ रन बनाए । बलिङमा भानेन्दु हसरंगाले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए ।
जितपछि श्रीलंकाको टोली सेमिफाइनलको दौडमा रहेको छ भने अफगानिस्तानको टोली टी–२० विश्वकपबाट बाहिरिएको छ । अफगानिस्तानको टोलीले ४ खेलमा २ अंक मात्र जोड्न सक्यो । प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो हार हो।
लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात राम्रो हुन सकेन । ओपनर पथुम निसान्का १० रन बनाएर मुजिब उर रहमानको शिकार बने । पहिलो ६ ओभरमा अफगान बलरले श्रीलंकाको टोलीलाई दबाबमा राखेको थियो । मध्य ओभरमा राशिद खानले पनि दबाब कायम गर्दै २५ रन बनाएर आउट भएका कुसल मेन्डिसको विकेट लिए । तर धनञ्जय डि सिल्भाले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा ६६ रनको इनिङ खेले । उनलाई चरित असलंका र भानुका राजपाक्षेको राम्रो साथ मिलेको थियो । अफगानिस्तानका रसिद र मुजिबले २–२ विकेट लिए ।
गाब्बा पिचमा अफगानिस्तानका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेका थिएनन् । टोलीका ओपनरहरुले ४२ रनको साझेदारी गरे पनि तिब्र गतिमा रन बनाउन सकेनन् । गुरबाजलाई अफगानिस्तानले पहिलो विकेटको रुपमा गुमाएको थियो । उनले २८ रन बनाए । ११ औं ओभरमा हसरंगाले उस्मान घानीलाई प्याभिलियनको बाटो देखाए । इब्राहिम जाद्रान पनि २२ रन बनाएर आउट भए ।
यसैबीच नजिबुल्लाह १८ रनमा आउट भएपछि अफगानिस्तानले ठूलो स्कोर बनाउने आशा समाप्त भयो। लेग स्पिनर हसरंगाले डेथ ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम ओभरमा दुई विकेट लिएर श्रीलंकाको जित सुनिश्चित गरे।

टिप्पणी लेख्नुहोस्