अफगानिस्तान भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट
काठमाडौं । अफगानिस्तानको टोली भारतमा हुने एकदिवसीय विश्वकप २०२३ मा छनोट भएको छ । अफगानिस्तान र श्रीलंकाबीचको दोस्रो एकदिवसीय खेल वर्षाका कारण रद्द भएसँगै टोली विश्वकपमा छनोट भएको हो । यो सँगै अब श्रीलंकालाई विश्वकपमा सीधै छनोट हुन कठिन भएको छ । अफगानिस्तानको टोली आईसीसी क्रिकेट विश्वकप सुपर लिगको अंक तालिकाको सातौं स्थानमा पुगेको छ । टोलीको अहिले ११५ अंक छ । श्रीलंकाविरुद्धको एकदिवसीय खेल रद्द भएपछि अफगानिस्तानको टोलीले ५ अंक पाएको छ, जसका कारण २०२३ को विश्वकपमा छनोट भएको हो ।
आईसीसीले सार्वजनिक गरेको अंक तालिकामा श्रीलंकाको टोली अहिले १० औं स्थानमा पुगेको छ । श्रीलंकाको मात्र ६७ अंक छ । जसका कारण श्रीलंकालाई भारतमा हुने एकदिवसीय विश्वकप २०२३ मा सीधै छनोट हुन कठिन भएको छ । श्रीलंकाले अब विश्वकपको टिकट पाउन बाँकी ४ खेल जित्नैपर्छ । त्यसपछि अन्य टोलीको समीकरणका आधारमा निर्णय हुनेछ । अफगानिस्तानपछि न्युजिल्यान्डसँग खेल्नु पर्ने भएकाले श्रीलंका बाहिरिने निश्चित जस्तै छ । यसरी श्रीलंकाका लागि सीधै विश्वकपमा छनोट हुन निकै कठिन भएको छ ।
आईसीसी क्रिकेट विश्वकप सुपर लिगको अंक तालिका अनुसार ७ टोली सन् २०२३ को विश्वकपका लागि सीधै छनोट भएका छन् । जहाँ भारत आयोजक भएकाले सीधै छनोट भएको हो । योसँगै इंग्ल्यान्ड, न्यूजिल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान र अफगानिस्तान छनोट भएका छन् ।
भारतमा हुने विश्वकप २०२३ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका, जिम्बाब्वे, नेदरल्यान्ड्स र आयरल्याण्डका टोली अझै छनोट भएका छैनन् । दक्षिण अफ्रिकी टोलीले सीधै छनोट हुने प्रयास गर्ने अपेक्षा गरिएको छ । विश्वकप सुपर लिगअन्तर्गत सबै टोलीले २४–२४ खेल खेल्नुपर्नेछ । दक्षिण अफ्रिकाको १६ खेलबाट ५९ अंक छ, यदि उसले बाँकी सबै खेल जित्यो भने सिधै छनोट हुने मौका पाउन सक्छ ।

टिप्पणी लेख्नुहोस्