अब महिला क्रिकेटरलाई पनि पुरुष खेलाडी सरह म्याच शुल्क दिइने
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले महिला क्रिकेटरलाई पनि पुरुष खेलाडी सरह म्याच शुल्क दिने भएको छ । बिसिसिआईका सचिव जय शाहले महिला क्रिकेटरलाई पनि पुरुष खेलाडी सरह म्याच शुल्क दिने घोषणा गरेका छन् ।
पुरुष खेलाडीले पाएको जत्तिकै स्टारडम महिला खेलाडीले पाउन नसकेको अवस्थामा यो ऐतिहासिक निर्णयले महिला क्रिकेटलाई थप उचाईमा लिएर जाने क्रिकेट बिश्लेषकहरु बताउछन । यो निर्णयसँगै अब महिला क्रिकेट खेलाडीहरूका लागि नयाँ युगको सुरुवात भएको छ ।
सन् २०२१ मा टिभी नाइन ले प्रकाशित गरेको रिपोर्ट अनुसार भारतमा पुरुष र महिला क्रिकेट खेलाडीको तलबमा धेरै भिन्नता रहेको थियो । बीसीसीआईको 'बी' ग्रेड सूचीमा रहेकी भारतीय महिला टोलीकी कप्तान मिताली राजको त्यतिबेला वार्षिक आम्दानी ३० लाख भारतीय रुपैया थियो, पुरुष टोलीका कप्तान विराट कोहली 'ए' प्लस ग्रेडमा थिए र उनको एक वर्षको तलब ७ करोड थियो । रिपोर्टका अनुसार विराटले मितालीको भन्दा २३ गुणा बढी तलब लिने गरेका थिए ।
नेपालमा पनि महिला क्रिकेट खेलाडीको तुलनामा पुरुष खेलाडीले ३ गुणा बढी तलब पाउने गरेका छन । नेपालमा हाल पुरुष क्रिकेट खेलाडीले ए, बी र सी ग्रेडमा क्रमशः साठी, पचास र चालीस हजार पाउने गरेका छन । त्यस्तै महिला क्रिकेट खेलाडीले ए, बी र सी ग्रेडमा क्रमशः एक्काइस, अठार र पन्ध्र हजार पाउने गरेका छन ।
बिसीसीआईको यो निर्णयसँगै अब भारतको महिला क्रिकेटमा नयाँ युगको सुरुवात हुने र मानिसहरूले आफ्ना छोरीहरूलाई क्रिकेट खेल्न पठाउन मन बनाउने क्रिकेटका अधिकारीहरु बताउछन।

टिप्पणी लेख्नुहोस्