लेख विवरण

अमेरिका एकदिवसीय विश्वकप छनोटमा, नामिबियाको सम्भावना जिवितै

अमेरिका एकदिवसीय विश्वकप छनोटमा, नामिबियाको सम्भावना जिवितै

काठमाडौंँ । अमेरिकाले एकदिवसीय विश्वकप छनोट खेल्ने भएको छ । नामिबियामा जारी एकदिवसीय विश्वकप छनोट प्लेअफमा आज जर्सीलाई २५ रनले पराजित गर्दै टोली विश्वकप छनोटमा प्रवेश गरेको हो । प्रतियोगितामा अमेरिका ८ अंक सहित शिर्ष स्थानमा उक्लेको छ ।

विन्डहोकको मैदानमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा अलआउट हुँदै २३१ रन बनायो । टोलीका लागि ओपनर स्टेभेन टेलरले सर्वाधिक ७९ रनको योगदान दिए । अर्धसतक बनाएका टेलरले सय बलमा ६ चौंका र ३ छक्का प्रहार गरे । गजानन्द सिंह (४१), जेशी सिंह (२९), निसार्ग पटेल (२३) र साइतेजा मुक्कामल्लाले (२१) रन बनाए । जर्सीका लागि बेन्जामीन वार्डले सर्वाधिक ४ विकेट लिए । जुलीउस सुमेराउर र इलिओट माइल्सले समान २-२ विकेट लिँदा चाल्र्स परचार्डको नाममा एक विकेट रह्यो ।

अमेरिकाले दिएको २३२ रनको लक्ष्य पछ्याउने क्रममा जर्सीको टोली ४७.७ ओभरमा २०६ रन बनाउदै अलआउट भयो । टोलीका लागि असा ट्रिवले अर्धसतक बनाएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । १०४ बलको सामना गर्ने क्रममा उनले ७ चौंका र २ छक्का प्रहार गरे । जर्सीका लागि बेन्जामीन वार्ड (४६) र जुलीउस सुमेराउरले (३५) रन बनाउदा कप्तान चाल्र्स परचार्ड १६ रनमा अविजित रहे । अमेरिकाका अलि खानले ९.४ ओभरमा ३२ रन खर्चदै सर्वाधिक ७ विकेट लिए । निसार्ग पटेलले २ विकेट लिँदा जेशी सिंहको नाममा १ विकेट रह्यो ।

जितसँगै अमेरिकाले ५ खेल मध्ये १ मा हार र ४ मा जित हासिल गर्दै अंक तालिकाके शिर्ष स्थानमा उक्लन सफल भयो ।

त्यस्तै आजै भएको एक अर्को खेलमा आयोजक नामिबियाले क्यानडालाई १११ रनले पराजित गरेको छ । जितसँगै नामिबियाले एकदिवसीय विश्वकप छनोटमा पुग्ने सम्भावना जिवितै राखेको छ ।

विन्डहोक मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २६७ रन बनायो । टोलीका लागि ओपनर शाउन फौचेले सर्वाधिक ८३ रनको योगदान दिए । जोहनसनको बलमा क्याच आउट हुनुअघि शाउनले १०७ बल खेल्दै ७ चौंका र १ छक्का प्रहार गरे । टोलीका लागि जाने ग्रिन (४५), निकोलास डाभिन (४०), जान निकोल लोफ्टी इयाटोन (१८) र कप्तान गे्रहार्ड इरासमुसले (१४) रन बनाए । पिकी या फ्रान्स ३४ रनमा अविजित रहे । क्यानडाका लागि बलिङमा कलिम साना र हर्श ठाकरले २-२ तथा जेरेमी गोर्डोन, डिलोन हेलिगर, साद बिन जफर र निखिल दत्ताले समान १-१ विकेट लिए ।

जितसँगै नामिबियाले ५ खेलमा ३ जित र २ हार सहित अंक तालिकामा ६ अंक बनाउदै दोस्रो स्थानमा उक्लन सफल भयो । समान अंक रहेको युएई कम रनरेटका कारण अंक तालिकाको तेस्रो स्थान झरेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.