अम्पायर विरुद्ध ट्विट गरेका शुभमन गिललाई आईसीसीले दियो यस्तो सजाय
काठमाडौंँ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतीय ओपनर शुभमन गिल दुवै इनिङ्समा फ्लप भए। खेलको दोस्रो इनिङ्समा उनको विकेटलाई लिएर निकै विवाद भएको थियो । शुभमन गिल क्याच आउट भएपनि भारतीय खेलाडीले उनी नआउट भएको विश्वास गरेका थिए । गिलले सामाजिक सञ्जालमा फोटो शेयर गर्दै अम्पायरको निर्णयमा पनि प्रश्न उठाएका थिए । शुभमनले गरेको ट्विटका कारण आईसीसीले उनलाई कारबाही गरेको छ ।
खेलको दोस्रो इनिङ्समा गिल स्कट बोल्याण्डको बलमा स्लिपमा क्याचमा आउट भए । स्लिपमा उभिएका क्यामरुन ग्रीनले यो क्याच लिएका थिए । रिप्लेमा बलले जमिन छोएको स्पष्ट देखिए पनि थर्ड अम्पायर रिचर्ड केटलबरोले उनलाई आउट दिए । शुभमनले यो निर्णयको आलोचना गर्दै ट्वीट गरेका थिए जसका कारण आईसीसीले उनलाई कारबाही गरेको हो ।
टेस्टको चौथो दिन आउट गर्ने निर्णयको आलोचना गरेबापत शुभमन गिलले जरिवाना तिर्नु पर्ने भएको छ । जुन अन्तर्राष्ट्रिय खेलमा हुने घटनाको सम्बन्धमा सार्वजनिक आलोचना वा अनुपयुक्त टिप्पणी गर्न निषेध गर्ने धारा २.७ को उल्लङ्घनसँग सम्बन्धित छ। उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ ।साथै, ढिलो ओभर गतिको कारण म्याच फी को १०० प्रतिशत शुल्कको जरिवाना पनि तिर्नुपर्नेछ।
आईपीएल २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका शुभमन गिल विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा फ्लप साबित भए । खेलको पहिलो इनिङ्समा १३ रन बनाएर गिल आउट भएका थिए । सोही क्रममा दोस्रो इनिङ्समा १८ रन बनाएर प्याभिलियन फर्किएका थिए ।

टिप्पणी लेख्नुहोस्