अरुणा शाही र विराज महर्जनलाई सर्वोत्कृष्ट खेलाडी अवार्ड
काठमाडौँ । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी अवार्ड पाएका छन ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले मंगलबार गोदावरीमा आयोजना गरको १६औँ एनएनआइपिए स्पोर्ट्स अवार्डमा अरुणा र विराज सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन । अवार्ड सहित दुवैले जनही एक लाख रुपियाँ पुरस्कार पाए ।
अवार्डमा नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध २७ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो । सम्बन्धित संघको सिफारिसको आधारमा उत्कृष्ट खेलाडी र सोहीमध्येबाट दुई जनालाई सर्वोत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिएको हो ।
उत्कृष्ट खेडालीहरुमा आर्चरीकी ज्ञानु अवाले, एथलेटिक्सका किरणसिंह बोगटी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बक्सिङकी सुस्मा तामाङ, बास्केटबलकी सदिना श्रेष्ठ, साइक्लिङका राजेश मगर, फेन्सिङकी अनिता कार्की, गल्फका करिष्मा शाह, ह्यान्डबलका विशाल बस्नेत, हक्कीकी अन्जना चन्द, जिम्न्यास्टिकका रोशन बुढाथोकी, करातेका विप्लभ श्रेष्ठ र राफ्टीङ एन्ड क्यानोइङका सुमन तामाङ छन ।
यसैगरी जुडोकी सुमित्रा राई, स्कीका सफलराम श्रेष्ठ, पौडीका अनुभव सुब्बा, सुटिङका कृष्ण थापा, कवड्डीका नागेश्वर थारु, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी पार्वती गुरुङ, ट्राइथोलनका हिमाल टमाटा, लन टेनिसकी अभिलाषा विष्ट, फुटबलका विराज महर्जन, भलिबलकी अरुणा शाही, भारोत्तोलनकी कमला श्रेष्ठ, उसुकी निमा घर्तीमगर र कुस्तीका सुरेश चुनारा उत्कृष्ट खेलाडी चुनिएका छन । उत्कृष्ट सबैले जनही १० हजार रुपियाँ पुरस्कार पाए ।

टिप्पणी लेख्नुहोस्