लेख विवरण

अर्को त्रिदेशीय सिरिजको तयारीमा जुट्यो नेपाली क्रिकेट

अर्को त्रिदेशीय सिरिजको तयारीमा जुट्यो नेपाली क्रिकेट

काठमाडौँ । नेपाली क्रिकेट टोली फेरि आईसीसी विश्वकप लिग–२ अन्तर्गत अर्को त्रिदेशीय सिरिजको तयारीमा जुटेको छ । नेपाल क्रिकेट संघ (क्यान) आगामी जेठ २४ देखि ३१ गतेसम्म अमेरिकामा आयोजना हुने त्रिदेशीय सिरिजको तयारीका लागि जुटेको क्यानका म्यानेजर विनोद दासले बताए ।

लिग–२ को यस सिरिजमा नेपालले अमेरिका र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । यस सिरिजअघि नेपाली क्रिकेट टोलीले क्यानडामा प्रशिक्षण र तयारी खेल खेल्न लागेको जानकारी पनि दासले दिए । उनले क्यान अहिले खेलाडीको क्यानडा भ्रमण र अमेरिकामा हुने सिरिजको लागि खेलाडीको भिसा प्रक्रिया लगायतको तयारीमा जुटेको बताए । नेपालले क्यानडासँग टी–२० र एकदिवसीय अभ्यास खेल खेल्नेछ ।

कोरोनाका कारण लामो समय अवरुद्ध भएको विश्वकप लिग–२ अन्तर्गत नेपालले यही चैत महिना संयुक्त अरव इमिरेट्स (यूएई) मा आयोजक यूएई र पपुवा न्युगिनी (पीएनजी) सँग त्रिदेशीय सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपालले दुई जित र दुई हारको नतिजा निकालेको थियो ।

यूईएमा नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको थियो । दोस्रो खेलमा यूएईसँग ४८ र तेस्रो खेलमा यूएईसँगै ९९ रनले पाराजित भएको नेपालले अर्को खेलमा पीएनजीलाई सात विकेटको हराएको थियो । लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैठौँ स्थानमा छ । नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ ।

२८ खेलबाट ३६ अंक बनाएको ओमान शीर्ष स्थानमा छ । यूएई, स्कटल्याण्ड, नामिबिया र अमेरिका तालिकाको क्रमश दोस्रो, तेस्रो, चौंथो र पाँचौ स्थानमा छन् । दुई अंक बनाएको पीएनजी तालिकाको पुछारमा छ । सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.