अस्ट्रेलियाली क्रिकेटरको घरमा लुटपाट
काठमाडौं । अस्ट्रेलियाली महिला क्रिकेट टिमकी सदस्य अमान्डा जेड वेलिङटनको घरमा लुटपाट भएको छ । २५ वर्षीया अमान्डाको घरमा केही लुटेराहरू पसेर उनको क्रिकेट किटलगायतका सामानहरू लुटेका छन। अमान्डाले बुधबार एक ट्वीट गर्दै आफूसँग घटनाको खुलासा गरेकी छिन। यसका साथै उनले अस्ट्रेलियाका जनतालाई सहयोगको अपिल गर्दै आफ्नो नामसँग सम्बन्धित कुनै सामान बिक्री भइरहेको देखेमा खबर गर्न समेत आग्रह गरेकी छिन् ।
अष्ट्रेलियाको महिला बिग बास लिग टोली एडिलेड स्ट्राइकर्सलाई ४ दिनअघि उपाधि जिताएकी वेलिङटनले बुधबार बिहान एक ट्वीट गर्दै घटनाको बारेमा जानकारी दिएकी छिन । एडिलेडकी बासिन्दा उनले घरमा भएको यो घटनाको प्रति दुख व्यक्त गरेकी छिन् ।
अमान्डा अष्ट्रेलियाको घरेलु क्रिकेटमा साउथ अस्ट्रेलिया स्कर्पियन्सका लागि खेल्ने गर्छिन । अस्ट्रेलिया र एडिलेड स्ट्राइकर्स बाहेक उनले इङ्ल्यान्डको द हन्ड्रेडमा सदर्न ब्रेभबाट खेल्छिन्।
लेग स्पिनर अमान्डाले भर्खरै सम्पन्न भएको महिला बीबीएलमा स्ट्राइकर्सको लागि उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन । उनले प्रतियोगिताको फाइनलमा १ सहित पूरै प्रतियोगिताको १६ खेलमा २३ विकेट लिदै तेस्रो सफल बलर बनेकी थिइन। उनले एक खेलमा ४ ओभरमा मात्र ८ रन दिएर ५ विकेट लिएकी थिइन, जुन केही समयको लागि प्रतियोगितामा कीर्तिमान बनेको थियो ।
House broken into & robbed, if you see any Wellington - Southern brave, Scorpion, Strikers, Australian or GM gear up for sale please let me know… 🥲💔
— Amanda Wellington (@amandajadew) November 30, 2022

टिप्पणी लेख्नुहोस्