लेख विवरण

आइसिसी 'प्लेयर अफ द मन्थ' जितेर यी खेलाडीले रचे इतिहास

आइसिसी 'प्लेयर अफ द मन्थ' जितेर यी खेलाडीले रचे इतिहास

काठमाडौंँ । आइसिसीले सन् २०२३ मे महिनाको प्लेयर अफ द मन्थको विजेता घोषणा गरेको छ । आयरल्याण्डका ह्यारी टेक्टरले मे महिनाको प्लेयर अफ द मन्थको अवार्ड जितेका छन् । उनले पाकिस्तानका बाबर आजम र बंगलादेशका नजमुल हसन शान्तोलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

आइसिसीले गरेको घोषणा अनुसार आयरल्याण्डका ह्यारी टेक्टर प्लेयर अफ द मन्थ घोषित भएपछि यो पुरस्कार प्राप्त गर्ने पहिलो आइरिस खेलाडी बनेका छन् । गत वर्ष टेक्टोरले टी–२० मा भारतविरुद्ध ३३ बलमा ६४ रनको तुफानी पारी खेलेका थिए । त्यसपछि भारतीय कप्तान हार्दिक पाण्ड्याले उनलाई ब्याट उपहार दिएका थिए ।

२३ वर्षीय टेक्टरले गत महिना बंगलादेशविरुद्धको एकदिवसीय शृंखलामा उत्कृष्ट ब्याटिङ गर्दै आफू आयरल्याण्डको भावी स्टार भएको प्रमाणित गरेका थिए । उनले आफ्नो ब्याटिङबाट सबैको मन जितेका छन् । पहिलो एकदिवसीयमा टेक्टरले २२ रन बनाएका थिए । त्यसपछि दोस्रो एकदिवसीय खेलमा उनले शानदार शतक प्रहार गर्दै १४० रन बनाए । त्यसपछि टेक्टरले तेस्रो एकदिवसीय खेलमा ४५ रन बनाएका थिए । यस्तोअवस्थामा उनलाई यो प्रतिष्ठित पुरस्कारका लागि छनोट गरिएको थियो ।

अवार्ड जितेपछि टेक्टोरले भने, 'म यो अवार्ड जित्न पाउँदा खुसी छु र मलाई भोट गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । क्रिकेट एक टिम खेल हो, त्यसैले यो पुरस्कारले आयरल्याण्ड टोलीको उत्कृष्ट प्रदर्शनलाई जनाउँछ।' उनले प्रशिक्षक तथा कप्तान एन्ड्रयु बालबर्नीलाई पनि धन्यवाद दिएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.