आईपीएलको खेल तालिका सार्वजनिक
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल) १६ औं सिजनको खेल तालिका शुक्रबार सार्वजनिक भएको छ । तालिका अनुसार प्रतियोगिताको पहिलो खेल ३१ मार्चमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । फाइनल खेल पनि यही स्टेडियममा २८ मे मा हुनेछ ।
५९ दिनसम्म चल्ने प्रतियोगितामा १० टोलीबीच कुल ७४ खेल हुनेछन् । प्रत्येक टोलीले ७ घरेलु मैदान ७ विपक्षी टोलीको मैदानमा गरि १४ खेल खेल्नेछन । लिग चरणमा १० टोलीबीच ७० खेल हुनेछ । लिग चरणपछि अंक तालिकाको शीर्ष ४ टोली प्लेअफमा पुग्नेछन् ।
प्रतियोगितामा १८ डबल हेडर हुनेछन् अर्थात् १८ पटक एक दिनमा २ खेल हुनेछन् । पहिलो खेल दिउँसो ३ः३० र दोस्रो बेलुका ७ः३० बजे सुरु हुनेछ । ३१ मार्चमा गुजरात र चेन्नईबीचको पहिलो खेलपछि १ र २ अप्रिलमा दुई डबल हेडर हुनेछ ।
अप्रिल १ मा पहिलो खेल पञ्जाब–कोलकाता र दोस्रो लखनउ–दिल्लीबीच हुनेछ । त्यसैगरी अप्रिल २ मा पहिलो खेल सनराइजर्स–राजस्थान र दोस्रो बैंगलोर–मुम्बईबीच हुनेछ । ८ अप्रिल र ६ मेमा प्रतियोगिताका सबैभन्दा सफल दुई टोली मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्नेछन् ।
आईपीएलमा १० टोली रहेकाले ५–५ टोलीलाई छुट्टाछुट्टै २ समूहमा विभाजन गरिएको छ । समूह ए मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपरजायन्ट्स छन् । समूह बी मा चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बैंगलोर, गुजरात टाइटन्स, पञ्जाब किंग्स र सनराइजर्स हैदरावाद छन् ।
समूह ‘ए’ का पाँच टोलीले एकअर्कासँग २–२ खेल खेल्नेछन् । त्यसैगरी समूह ‘बी’ को कुनै एक टोलीसँग २ र बाँकी ४ टोलीसँग एक–एक खेल खेल्नेछन । समूह ‘बी’का टोलीले पनि लिग चरणका १४ खेल यसैगरी पूरा गर्नेछन् ।
लिग चरणका खेलपछि प्लेअफका ४ खेल हुनेछन् । अंक तालिकाको शीर्ष ४ मा पुग्ने टोली प्लेअफमा पुग्नेछन् । आईपीएलको लिग चरणका ७० खेलको तालिका सार्वजनिक भएको छ । प्लेअफको खेल तालिका सार्वजनिक भएको छैन । तर, क्वालिफायर–१ मे २३ मा हुने अपेक्षा गरिएको छ । मे २४ मा एलिमिनेटर र २६ मा क्वालिफायर–२ हुने सम्भावना रहेको छ । फाइनलको मिति मे २८ तय गरिएको छ ।
क्वालिफायर-१ अंक तालिकाको शीर्ष २ टोलीबीच हुनेछ। क्वालिफायर-१ जित्ने टोली फाइनलमा पुग्ने छ । अंक तालिकाको तेस्रो र चौथो नम्बरमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् । यो जित्ने टोली क्वालिफायर २ मा पुग्ने छ । एलिमिनेटरको विजेता र क्वालिफायर १ को उपविजेताले क्वालिफायर २ खेल्नेछन्। क्वालिफायर-२ को विजेता टोलीले मे २८ मा क्वालिफायर-१ को विजेतासँग फाइनल खेल्नेछ।
प्रतियोगिताका ७४ खेल विभिन्न १२ शहरमा हुनेछन् । आईपीएल टोलीका १० शहर बाहेक गुवाहाटी र धर्मशालामा पनि खेल हुनेछ। गुवाहाटी राजस्थान रोयल्सको घरेलु मैदान हुनेछ भने धर्मशाला पञ्जाबको घरेलु मैदान हुनेछ। आईपीएल टोलीका १० शहरहरू मुम्बई, चेन्नई, अहमदाबाद, जयपुर, बैंगलोर, लखनऊ, हैदरावाद, दिल्ली, मोहाली र कोलकाता हुनेछ।

टिप्पणी लेख्नुहोस्