आईपीएलमा केकेआरको पहिलो जित, आरसीबीलाई ८१ रनले हरायो
काठमाडौंँ । कोलकाता नाइट राइडर्स (केकेआर)ले आईपीएल २०२३ को जारी सिजनमा पहिलो जित निकालेको छ। टोलीले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई घरेलु मैदानमा ८१ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको केकेआरले ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । विराट कोहली र फाफ डु प्लेसिसले आरसीबीलाई राम्रो सुरुवात दिलाए पनि १८ औं ओभरमा टोलीको इनिङ १२३ रनमा समाप्त भयो ।
रहमानुल्लाह गुरबाज (५७रन), शार्दुल ठाकुर (६८ रन)को अर्धशतक र रिंकु सिंह (४६ रन)सँग छैठौं विकेटका लागि १०३ रनको साझेदारीमा केकेआरले २०० रनको सङ्ख्या पार गरेका थियो। १२औं ओभरमा केकेआरको स्कोर पाँच विकेटमा ८९ रन थियो, त्यसपछि ठाकुर र रिंकुले ४७ बलमा छैटौं विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई २०० रनको नजिक लगेका थिए । ट्रबलशुटरको भूमिका खेलेका ठाकुरले २९ बलको इनिङ्समा ९ चौका र तीन छक्का प्रहार गर्दै आईपीएलमा आफ्नो पहिलो अर्धशतक बनाए । सातौं नम्बरमा ब्याटिङ गर्न आएका शार्दुलले २० बलमा अर्धशतक पूरा गरे । जारी सिजनको यो सबैभन्दा छिटो अर्धशतक हो। जोस बटलरले पनि २० बलमा अर्धशतक प्रहार गरेका छन् । ती बाहेक केकेआरका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
गुरबाजले ४४ बलमा ६ चौका र तीन छक्का प्रहार गरेका थिए । रिंकुले पनि ठाकुरसँगको साझेदारीमा ३३ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । आरसीबीका लागि डेभिड विली र कर्ण शर्माले समान २-२ विकेट लिए ।
विराट कोहली र फाफ डु प्लेसिसले आरसीबीलाई फेरि एकपटक राम्रो सुरुवात गराए । टोलीको स्कोर ४ ओभरमा ४२ रन थियो । चौथो ओभरमा टिम साउथीविरुद्ध दुवैले २३ रन जोडे । तर स्पिनर आएसँगै खेलको उल्टो भयो । पाँचौं ओभरमा सुनिल नारायणले विराट (२१) लाई बोल्ड गरे। त्यसपछि वरुण चक्रवर्तीले आफ्नो दुई ओभरमा डु प्लेसिस, म्याक्सवेल र हर्षल पटेललाई आउट गरे । तीनै ब्याट्सम्यान बोल्ड भए ।
आईपीएलमा डेब्यू गरेका सुयश शर्माको मिस्ट्री स्पिन पनि देखियो । उनले दिनेश कार्तिक, अनुज रावत र कर्ण शर्मालाई आउट गरे । आकाश दीपलाई अन्तिम विकेटका रूपमा आउट गर्दै वरुण चक्रवर्तीले चौथो विकेट लिए। सुनिल नारायणले पनि दुई विकेट लिए भने शार्दुल ठाकुरले एक विकेट लिए ।

टिप्पणी लेख्नुहोस्