आईपीएलमा नयाँ नियम, टसपछि प्लेइङ–११ छनोट गर्न सकिने
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन मार्च ३१ बाट सुरु हुँदैछ । १० टोली सहभागि सिजनमा यसपटक केही नयाँ नियमहरु थपिने भएका छन । जस अनुसार अब टिमले टसपछि प्लेइङ–११ छनोट गर्न पाउने छन । टसपछि टोलीले ४ प्रभावशाली खेलाडीको नाम पनि दिनुपर्नेछ ।
यी बाहेक आईपीएलको १६ औं सिजनमा नयाँ नियमहरु पनि थपिएको छ ।
आईपीएल खेलमा अब दुबै टोलीका कप्तानले टसको समयमा पुरै टोलीको नाम ल्याउन सक्नेछन् । टसपछि ब्याटिङ वा बलिङ पहिले आएको थाहा पाएपछि त्यही अनुसार प्लेइङ–११ छनोट गर्न सक्नेछन् । यसअघि १५औंँ सिजनसम्म टिमले टसको समयमा प्लेइङ–११ ल्याउने नियम रहेको थियो । र टसपछि त्यै टोलीसँग खेल्नुपर्ने थियो, तर अब त्यस्तो हुने छैन ।
यस सिजनबाट आईपीएलमा प्रभावशाली खेलाडीको नियम पनि थपिने भएको छ । दुवै टोलीले टसपछि ४–४ प्रभावशाली खेलाडीको नाम तोक्नुपर्नेछ । यी ४ प्रभावशाली खेलाडीमध्ये टोलीले खेल अवधिभर कुनै एक खेलाडीलाई प्लेइङ–११ मा समावेश भएका खेलाडीलाई रिप्लेस गर्न सक्नेछन् । खेलको दुवै इनिङ्समा खेलाडीले १४ ओभरको इम्प्याक्ट प्लेयर नियम प्रयोग गरी खेलाडी बदल्न सक्नेछन्।
एक टोलीले खेल अवधिभर एक पटक मात्र प्रभावशाली खेलाडी प्रयोग गर्न पाउने छन। उसले चाहेमा पहिलो इनिङ्सको १४ ओभरसम्म वा दोस्रो इनिङ्सको १४ औं ओभरसम्म रिप्लेसमेन्ट लिन सक्छन ।
टोलीले खेलमा ब्याटिङ वा बलिङ गरेका खेलाडीलाई पनि बदल्न सक्नेछन्। प्रभावशाली खेलाडीले आफ्नो स्पेलको पुरै चार ओभर बलिङ गर्न पाउनेछन्। साथै, उनले इनिङ्समा जति ओभर बाँकी छन्, त्यति नै ओभर ब्याटिङ गर्न पाउनेछन । तर, एक इनिङ्समा एक टोलीको अधिकतम १० विकेट मात्रै आउट हुनेछ ।
आईपीएलमा टसपछि टिम रिलिज गर्ने नियम दक्षिण अफ्रिकाको टी–२० लिग एसए २० जस्तै हो। त्यहाँ पहिलो टसपछि टोली घोषणा गर्ने नियम सुरु भएको थियो। उक्त नियममा दुवै टोलीका कप्तानले टसअघि १३ खेलाडीको नाम राख्नुपर्ने थियो र टस लगत्तै ब्याटिङ वा बलिङ गर्दा कप्तानले कुनै पनि २ खेलाडीलाई हटाउन सक्ने नियम रहेको थियो । यो नियमसँगै टसको प्रभाव लगभग समाप्त भएको छ। प्रतियोगितामा ३३ खेलमध्ये १६ टस हार्ने र १५ टस जित्ने टोलीले जितेको थियो। २ खेल नतिजाबिहीन रहेको थियो ।
आईपीएलमा पनि टसको असर हटाउने उद्देश्यले यो नियम ल्याइएको हो । पछिल्लो पटक २०१९ मा आईपीएल होम एण्ड अवे ढाँचामा भएको थियो ।त्यसपछि ६० खेलमध्ये ३४ खेल टस जित्ने टोलीले जितेका थिए । टस हारेका टोलीले २३ खेल जितेका थिए भने बाँकी खेल सुपर ओभरमा वा वर्षा या अन्य कुनै कारणले नतिजाबिहीन बनेको थियो ।
आईपीएलमा यी नियमहरु पनि परिवर्तन भएका छन्
१. सबै टोलीलाई इनिङ्सको २० ओभर पूरा गर्न ७५ मिनेटको समय दिइएको छ। यो समयमा ओभर पुरा नभएमा ५ को सट्टा ४ फिल्डर मात्र बाँकी ओभर ३० यार्डको सर्कल बाहिर राख्न पाउनेछन ।
२. बलिङको क्रममा यदि विकेटकिपर वा फिल्डरले गलत तरिकाले मुभ गरेको खण्डमा त्यो बललाई डेड बल घोषित गरिनेछ। यससँगै फिल्डिङ गर्ने टोलीलाई ५ रनको पेनाल्टी पनि लगाइनेछ । गलत मुभ अर्थात् बलिङको समयमा फिल्डरले कुनै पनि काम गर्नु जसले गर्दा ब्याटरको ध्यान विचलित हुन्छ वा फिल्डरले बलिङ गर्नु अघि उसको फिल्डिङ स्थिति परिवर्तन गर्छ।
आईसीसीले गत वर्ष टी–२० र एकदिवसीयको प्लेइङ कन्डिसनमा केही परिवर्तन गरेको थियो । जुन अक्टोबर १, २०२२ देखि लागू भएको थियो। यी नियमहरू अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग हुन थाले पनि आईपीएलमा पहिलो पटक लागू हुनेछ।

टिप्पणी लेख्नुहोस्