लेख विवरण

आईपीएल २०२३ मा गुजरातको विजयी सुरुवात

आईपीएल २०२३ मा गुजरातको विजयी सुरुवात

काठमाडौंँ । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औँ सिजनमा विजयी सुरुवात गरेको छ । टोलीले रोमाञ्चक भिडन्तमा चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई ४ बल बाँकी रहँदा ५ विकेटले पराजित गरेको हो । चेन्नईमाथि गुजरातको यो लगातार तेस्रो जित हो।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । चेन्नईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ रनको लक्ष्य गुजरात टाइटन्सले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईका लागि ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ९२ रन बनाए । उनले पहिलो २३ बलमा अर्धशतक पूरा गरे र त्यसपछि आफ्नो टोलीको स्कोर १५० भन्दा माथि पुर्याए। उनी ५० बलमा ९२ रन बनाएर अन्ततः अल्जारी जोसेफको शिकार बने । यस इनिङ्समा उनले ४ चौका र ९ छक्का प्रहार गरे । मोइन अलीले २३ रन बनाए । मध्यक्रममा शिवम दुबेले १९ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले १४ रन बनाए । गुजरातका लागि मोहम्मद सामी, राशिद खान र अल्जारी जोसेफले २–२ विकेट लिए ।

१७९ रनको लक्ष्य पछ्याउँदै शुबमान गिल र ऋद्धिमान साहाले गुजरातलाई राम्रो सुरुवात दिलाए । दुवैले ३७ रनको साझेदारी गरे, साहा २५ रन बनाएर राजवर्धन हंगेरगेकरको शिकार बने । गिलले साई सुदर्शनको साथमा पावरप्लेको ६ ओभरमा टोलीको स्कोर ६५ रनमा पुर्याए । ओपनर शुभमन गिल र इम्पैक्ट प्लेयर साई सुदर्शनले ३५ बलमा ५३ रनको साझेदारी गरे । सुदर्शन २२ रन बनाएर आउट भए ।

१८ औं ओभरमा विजय शंकरको विकेट गुजरातका लागि टर्निङ प्वाइन्ट बन्यो । शंकर आउट भएपछि रसिद खान ब्याटिङमा आए । उनले ३ बलमा एक छक्का र एक चौका प्रहार गर्दै खेल गुजरातको पक्षमा पुर्याए । अन्तिम ओभरमा टिमलाई ८ रन चाहिएको थियो । त्यसपछि राहुल तेवाटियाले पहिलो २ बलमा छक्का र चौका प्रहार गर्दै टोलीलाई ५ विकेटको जित दिलाए ।

चेन्नईका लागि आईपीएलमा डेब्यू गरेका राजवर्धन हेङ्गारगेकर आफ्नो बलिङबाट प्रभावित बनाए । उनले ४ ओभरमा ३६ रन दिएर ३ विकेट लिए । रविन्द्र जडेजा र तुषार देशपाण्डेले एक–एक विकेट लिए ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.