आईपीएल २०२३ : पञ्जाब किंग्स अंक तालिकाको दोस्रो स्थानमा उक्लियो
काठमाडौं । आईपीएल २०२३ को अंक तालिकामा उतारचढाव भएको छ । बुधबार पञ्जाबको टोलीले राजस्थानलाई ५ रनले पराजित गरेपछि अंक तालिकाको दोस्रो स्थानमा उक्लन सफल भयो । जारी सिजनमा पञ्जाबको यो लगातार दोस्रो जित हो। जितसँगै पञ्जाबको नेट रनरेट +०.३११ भएको छ र दोस्रो नम्बरमा पुगेको छ ।
हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्स तालिकाको शीर्ष स्थानमा रहेको छ । लगातार दुई जितपछि गुजरात र पञ्जाबको समान ४–४ अंक छ, तर नेट रनरेटका आधारमा हार्दिक पाण्ड्याको टोली पञ्जाबभन्दा अगाडि छ । गुजरात टाइटन्सको नेट रनरेट +०.७०० छ।
अंक तालिकाको शीर्ष ४ मा पर्ने टोलीले प्लेअफमा पुग्ने मौका पाउनेछन्। यस्तो अवस्थामा प्रत्येक खेलको स्कोर र रनरेट धेरै महत्त्वपूर्ण हुन्छ। गुजरात टाइटन्स अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रोमा पञ्जाब किंग्स रहेको छ । तेस्रो नम्बरमा रोयल च्यालेन्जर्स बैंगलोर रहेको छ । मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएपछि रोयल च्यालेन्जर्स बैंग्लोरले २ अंक जोडेको छ र उसको नेट रनरेट +१.९८१ छ। आज रोयल च्यालेन्जर्स बैंगलोरको दोस्रो खेल केकेआरसँग छ, यो खेल पनि आरसीबीले जित्यो भने शीर्ष स्थानमा पुग्ने छ । पञ्जाबसँगको हारपछि राजस्थान रोयल्सको टोली पहिलो नम्बरबाट चौथो स्थानमा झरेको छ ।
चेन्नई सुपर किंग्सका ओपनर ऋतुराज गायकवाडले आईपीएल २०२३ मा हालसम्म दुई खेलमा १४९ रन बनाएर ओरेन्ज क्यापको नेतृत्व गरिरहेका छन्। लखनऊ सुपर जायन्ट्सका फास्ट बलर मार्क वुड पर्पल क्यापको दौडमा सबैभन्दा अगाडि छन्। वुडले आईपीएल २०२३ को दुई खेलमा अहिलेसम्म ८ विकेट लिएका छन् ।

टिप्पणी लेख्नुहोस्