लेख विवरण

आईपीएल २०२३ : महँगो खेलाडी फ्लप, सस्तो सुपरहिट

आईपीएल २०२३ : महँगो खेलाडी फ्लप, सस्तो सुपरहिट

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजनमा अहिले सम्म ५५ खेल खेलिएका छन् । जसमा महँगो मूल्यमा बिक्रि भएका स्टार खेलाडीहरु फ्लप भइरहेका छन् । तर बेस प्राइसमा बिक्री भएका खेलाडीहरूले राम्रो प्रदर्शन गरि रहेका छन्।

हामी यस्ता क्रिकेटरको चर्चा गर्नेछौं, जो लिलामीमा महँगोमा बिकिए तर टोलीका लागि केही गर्न सकेनन् । यससँगै सस्तोमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको बारेमा पनि जानकारी लिनेछौं।

साम करण, पञ्जाब किंग्स (२९.६ करोड)

आईपीएल २०२३ का सबैभन्दा महँगा खेलाडी तथा इङ्ल्यान्डका अलराउन्डर साम करणको प्रदर्शन पञ्जाब किंग्सका लागि अहिलेसम्म औसत रहेको छ। पञ्जाबले सामका लागि २९.६ करोड रुपैयाँ खर्च गरेको थियो । उनले एक खेलमा राम्रो प्रदर्शन गरेका छन । सिजनको ३१औं खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध अर्धशतक बनाएर टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

सामले जारी सिजनको ११ खेलमा एक अर्धशतक सहित १९६ रन बनाएका छन् । यस क्रममा उनको स्ट्राइक रेट १३७.०६ रहेको छ । सामको नाममा सात विकेट पनि रहेको छ । उनले ९.५५ इकोनोमीमा रन दिएका छन् ।

क्यामरन ग्रीन, मुम्बई इन्डियन्स (२८ करोड)

अष्ट्रेलियाका स्टार अलराउन्डर क्यामरन ग्रीनको जारी आईपीएल पहिलो सिजन हो । ग्रीनलाई मुम्बईले २८ करोडमा किनेको थियो । अहिलेसम्मको खेलमा ग्रिनले ब्याट र बल दुबैबाट खासै केही गर्न सकेको छैनन । उनले अहिलेसम्म ११ खेल खेलेका छन् र यस अवधिमा कुल २७४ रन बनाएका छन् ।

आईपीएलमा ग्रीनको उत्कृष्ट स्कोर ६४ रन रहेको छ । उनले ६ विकेट समेत लिएका छन् । बलिङमा उनको उत्कृष्ट प्रदर्शन ४१ रनमा २ विकेट रहेको छ ।

बेन स्टोक्स, चेन्नई सुपर किंग्स (२६ करोड)

इंग्ल्याण्डका स्टार अलराउन्डर बेन स्टोक्सलाई आईपीएल २०२३ को लिलामीमा चेन्नई सुपर किंग्सले २० करोडमा किनेको थियो । तर उनले टोलीको अपेक्षा पूरा गर्न सकेनन्। स्टोक्सले गुजरात टाइटन्सविरुद्ध ७ र लखनउविरुद्ध ८ रन बनाएका छन । लखनउविरुद्ध बलिङ गर्दा स्टोक्सले एक ओभरमा १८ रन खर्चेका थिए । खबर अनुसार उनी अहिले घाइते भएका छन् ।

निकोलस पूरन, लखनऊ सुपरजायन्ट्स (२५.६० करोड)

लखनउ सुपर जायन्ट्सले वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पूरनका लागि २५.६० करोड रुपैयाँ खर्च गरेको छ । उनले खेलेका ११ खेलमा २४.८० को औसतमा २४८ रन बनाएका छन् । यस अवधिमा उनको स्ट्राइक रेट १६०.०० रहेको छ।

आरसीबी विरुद्ध उनले १९ बलमा ६२ रनको आक्रमक इनिङ खेलेका थिए। जारी सिजन उनको ब्याटबाट २४६ रन बनेको छ । यस्तो अवस्थामा उनले लखनउलाई अहिलेसम्म निराश पारेका छैनन् भन्न सकिन्छ ।

ह्यारी ब्रुक, सनराइजर्स हैदराबाद (२१.२० करोड)

सनराइजर्स हैदरावादका लागि २१.२० करोड रुपैयामा बिक्रि भएका ह्यारी ब्रुकको ब्याट अहिलेसम्म मौन छ । इंग्ल्याण्डका ब्याट्सम्यान ह्यारीले अहिलेसम्म टिमका लागि खासै योगदान दिन सकेका छैनन् । जारी आईपीएल ह्यारीको डेब्यु सिजन हो। केकेआर विरुद्ध ब्रुकको शतक बाहेक उनको प्रदर्शन कमजोर रहेको छ।

हालसम्म खेलेका ९ खेलमा ह्यारीले १२१.६४ स्ट्राइक रेटमा १६३ रन बनाएका छन् । टोलीले अन्तिम खेलमा ब्रुकलाई प्लेइङ–११ मा पनि राखेन । उनको प्रदर्शनलाई हेर्दा ब्रुक अहिलेसम्म फ्लप नै रहेको बताइन्छ ।

सस्तोमा बिकिएका र राम्रो प्रदर्शन गरिरहेका खेलाडीहरु

सुयश शर्मा, कोलकाता नाइट राइडर्स (३२ लाख)

भारतीय खेलाडी सुयश शर्माले पहिलो पटक आईपीएल खेल्दैछन् । उनको उमेर १९ वर्ष रहेको छ । उनले लेगब्रेक बलिङ र दाहिने हातले ब्याटिङ गर्छन्। आईपीएल २०२३ को मिनी लिलामीमा केकेआरले यी भारतीय मिस्ट्री स्पिनरमाथि बाजी लगाएको थियो। टोलीले उनलाई ३२ लाखको आधार मूल्यमा किनेको थियो ।

यसअघि सुयशले लिस्ट ए, फर्स्ट क्लास वा टी–२० खेल खेलेका छैनन् । उनले कोलकाताका लागि अहिलेसम्म ८ खेलमा १० विकेट लिएका छन् । उनको इकोनोमी रेट ८.०६ छ। सुयशले धेरै खेलमा म्याच विनिङ इनिङ पनि खेलेका छन ।

साई सुदर्शन, गुजरात टाइटन्स (र ३२ लाख)

२१ वर्षीय साई सुदर्शनले जारी सिजनमा घाइते केन विलियम्सनको स्थानमा खेल्ने मौका पाएका छन् । आईपीएल २०२३ मा गुजरातले साईलाई ३२ लाखको आधार मूल्यमा किनेको थियो। साईले गत वर्ष आईपीएलमा डेब्यु गरेका थिए । यी अलराउन्डरले जारी सिजनको पाँच खेलमा दुई अर्धशतक सहित १७६ रन बनाएका छन् ।

दिल्लीको अरुण जेटली स्टेडियममा भएको सिजनको आठौं खेलमा गुजरात टाइटन्सले आयोजक दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।प्रतियोगितामा गुजरात टाइटन्सको यो लगातार दोस्रो जित थियो। साई सुदर्शन यो जितको सबैभन्दा ठूलो हिरो बनेका थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्दै २१ वर्षीय साईले ४८ बलमा अविजित ६२ रन बनाएका थिए ।

अजिंक्य रहाणे, चेन्नई सुपर किंग्स (८० लाख)

जारी सिजनमा अजिंक्य रहाणे फरक फममा छन् । उनले यस आईपीएल २०२३ को पावरप्लेमा २२२.२२ को स्ट्राइक रेटमा रन बनाएका छन्। यी ब्याट्सम्यानलाई चेन्नईले ८० लाखको आधार मूल्यमा टोलीमा समावेश गरेको थियो। मुम्बईविरुद्ध चेन्नई समस्यामा परेको बेला रहाणेले २७ बलमा ६१ रनको इनिङ खेल्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए।

बैंगलोर विरुद्धको खेलमा ऋतुराज गायकवाड चाँडै आउट भएपनि रहाणेले २० बलमा ३७ रन बनाए । केकेआर विरुद्ध उनले २९ बलमा अविजित ७१ रन बनाए । रहाणेले फिल्डिङसँगै ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । जारी सिजनमा रहाणेले ९ खेलमा दुई अर्धशतक सहित १७१.६१ को स्ट्राइक रेटमा २६६ रन बनाएका छन् ।

मयंक मार्कण्डे, सनराइजर्स हैदराबाद (८० लाख)

आईपीएल २०२३ मा सनराइजर्स हैदरावादको प्रदर्शन हाल सम्म केहि विशेष भएको छैन। तर, बलर मयंक मार्कण्डे हैदराबादका लागि सर्वाधिक विकेट लिने बलर हुन्। इकोनोमी रेटको हिसाबले, आईपीएल २०२३ मा उनको प्रदर्शन पर्पल क्याप दावेदारहरू भन्दा पनि राम्रो छ।

मयंक मार्कण्डेले जारी सिजनमा हैदरावादका लागि ८ खेल खेलेका छन् र ११ विकेट लिएर छाप छोडेका छन्। यस अवधिमा उनको इकोनोमी रेट ७.३१ रहेको छ । हैदरावादले मयङ्कलाई उनको आधार मूल्य ८० लाखमा किनेको थियो। मयङ्कले ३० रन पनि बनाएका छन् ।

सिकन्दर रजा, पञ्जाब किंग्स (८० लाख)

जिम्बाब्वेका अलराउन्डर सिकन्दर रजाले आईपीएल २०२३ मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनलाई पञ्जाब किंग्सले ८० लाखमा किनेको थियो । रजाले जारी सिजनको पहिलो तीन खेलमा खासै केही गर्न सकेका थिएनन जसकारण चौथो खेल खेल्न सकेनन् ।

रजाले ५औं खेलमा फेरि मौका पाए र उनले लखनउ सुपरजाइन्ट्स विरुद्धको खेलमा पाएको अवसरलाई सदुपयोग गर्दै आफ्नो पहिलो आईपीएल अर्धशतक पूरा गरेर टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। त्यसपछि रजाले केही महत्वपूर्ण खेलमा टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.