आईपीएल २०२३ : रोमाञ्चक खेलमा दिल्लीले पञ्जाबलाई हरायो
काठमाडौंँ । आईपीएल २०२३ को खेलमा दिल्ली क्यापिटल्स (डिसी) ले पञ्जाब किंग्स (पिबिकेएस) लाई १५ रनले पराजित गर्दै आफ्नो अघिल्लो हारको बदला लिएको छ। धर्मशाला रंगशालामा भएको खेलमा २१४ रनको लक्ष्य पछ्याएको पञ्जाब किंग्सले २० ओभरमा १९८ रन मात्र जोड्न सक्यो । पञ्जाबका लागि अथर्व तायडेले ५५ र लिभिङ्स्टनले ९४ रनको इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
२१४ रनको लक्ष्य पछ्याएको पञ्जाब किंग्सको सुरुवात खराब रह्यो । टोलीलाई पहिलो झटका इनिङ्सको दोस्रो ओभरमा कप्तान शिखर धवनको रुपमा लाग्यो, जो खाता नै नखोली प्याभिलियन फर्किए । खेलमा बायाँ हाते खेलाडी अथर्व तायडेलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो ।
प्रभसिम्रान सिंह र अथर्व तायडेले मिलेर टोलीको स्कोर अगाडी बढाउन मद्दत गरे र ४ ओभरको अन्त्यमा २३ रन बनाए । त्यसपछि पञ्जाबको टोलीले पहिलो ६ ओभरमा १ विकेट गुमाएर ४७ रन जोड्न सफल भयो ।
खेलमा अथर्व तायडेले ३७ बलमा अर्धशतक पूरा गरे । १५ ओभरको खेल सकिएपछि पञ्जाबको स्कोर २ विकेटको क्षतिमा १२८ रन थियो । यसैबीच, अथर्वले १६औं ओभर सुरु हुनुअघि नै ५५ रनको व्यक्तिगत स्कोरमा आफूलाई रिटायर बनाए। अथर्व र लिभिङ्स्टनले तेस्रो विकेटका लागि ५० बलमा ७८ रनको साझेदारी गरे ।
अन्तिम ५ ओभरमा पञ्जाब किंग्सलाई जितका लागि ८६ रन आवश्यक थियो। त्यसपछि टोलीलाई चौथो झटका १६औं ओभरमा जितेश शर्माको रूपमा लाग्यो, जो खाता नै नखोलेर प्याभिलियन फर्किए । लिभिङ्स्टन र शाहरुख खानबीच ५ औं विकेटका लागि ६ बलमा १८ रनको साझेदारी भयो । शाहरुख खान ३ बलमा ६ रन बनाएर प्याभिलियन फर्किए ।
पञ्जाब किंग्सले इनिङ्सको १७ औं ओभरमा कुल २० रन बनाएको थियो र अब उसलाई जितका लागि अन्तिम ३ ओभरमा ५९ रन आवश्यक थियो। पञ्जाबले इनिङ्सको १८ औं ओभरमा कुल २१ रन बनाएको थियो जसका कारण टिमलाई जितका लागि अन्तिम १२ बलमा ३८ रन मात्र आवश्यक थियो । १९ औं ओभरमा पन्जाबको टोलीले २ विकेट गुमाएर मात्र ५ रन बनायो जसका कारण जितका लागि अन्तिम ६ बलमा ३३ रन जोड्नु परेको थियो ।
अन्तिम ओभरमा पञ्जाब किंग्सको टोलीले १७ रन मात्र बनाउन सक्यो र १५ रनले पराजित भयो । पञ्जाबका लागि लियाम लिभिङ्स्टनले ४८ बलमा ९४ रनको उत्कृष्ट इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । बलिङमा दिल्लीका इशान्त शर्मा र एनरिके नोर्खियाले २–२ विकेट लिए भने खलील अहमद र अक्षर पटेलले १–१ विकेट लिए ।
पहिलो इनिङमा दिल्ली क्यापिटल्सका लागि डेभिड वार्नर र पृथ्वी शाको ओपनिङ जोडीले उत्कृष्ट सुरुवात गराए र पहिलो विकेटका लागि ९४ रनको उत्कृष्ट साझेदारी गरे। खेलमा वार्नर ३१ बलमा ४६ रनको इनिङ खेलेर प्याभिलियन फर्किएका थिए । दिल्लीका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रिले रोसोउले आफ्नो इनिङ्सको सुरुवात धमाकेदार तरिकाबाट गरेका थिए ।
रिली रोसोउले आफ्नो आईपीएल करियरको पहिलो अर्धशतक मात्र २५ बलमा पूरा गरे । रोसु र पृथ्वी शाबीच दोस्रो विकेटका लागि २८ बलमा ५४ रनको साझेदारी भएको थियो । त्यसपछि रोसुले फिल साल्टको साथ पाए र अन्तिम ५ ओभरमा ६५ रन बनाएर निर्धारित २० ओभरमा २ विकेट गुमाएर टोलीको स्कोर २१३ मा पुर्याउन महत्वपूर्ण भूमिका खेले । रिले रोसोउले ३७ बलमा ८२ रन बनाए भने फिल साल्टले १४ बलमा २६ रन बनाए ।

टिप्पणी लेख्नुहोस्