आईपीएल : चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल) १६ औं सिजनको पहिलो एल क्लासिकोमा चेन्नई सुपर किंग्सले जित निकालेको छ । टोलीले लिगको १००० औं खेलमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । सिएसकेको जितका नायक रविन्द्र जडेजाले ३ विकेट लिए भने अजिंक्य रहाणेले १९ बलमा प्रतियोगिताको सबैभन्दा छिटो अर्धशतक बनाए ।
वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । जवाफमा चेन्नईले १८.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । योसँगै चेन्नईले मुम्बईलाई उसैको घरेलु मैदानमा ५ वर्षपछि पराजित गरेको छ । जितसँगै चेन्नई अंक तालिकाको चौथो स्थानमा पुगेको छ ।
चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर बलिङ रोजेपनि मुम्बईले राम्रो सुरुवात गरेको थियो । टोलीले बिना कुनै क्षति ३८ रन बनाएको थियो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले आफ्नो ओपनर ६७ रनमा गुमाएपछि लगातार विकेट खस्ने क्रम सुरु भयो । टोलीका मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । तर, टिम डेभिडले २१ बलमा ३१ रन बनाउदा मुम्बईको स्कोर १५० पुगेको थियो । ओपनर इशान किशनले २१ बलमा ३२ रनको संघर्षपूर्ण इनिङ्स खेले भने टिम डेभिडले २२ बलमा ३१ रन बनाए । तिलक वर्माले २२ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
चेन्नईका लागि अलराउन्डर रविन्द्र जडेजाले किफायती बलिङ गरे । उनले चार ओभरमा २० रन दिएर तीन विकेट लिए । जडेजाले ओपनर इशान किशन, क्यामरुन ग्रीन र तिलक वर्मालाई आउट गरेका थिए । मुम्बईलाई सहजै रोक्न चेन्नईको स्पिन डिपार्टमेन्टले महत्वपूर्ण भूमिका खेलेको थियो । टिमका लागि स्पिनरले ८ मध्ये ५ विकेट लिए । जडेजा बाहेक सान्टनरले दुई विकेट लिए ।
१५७ रनको लक्ष्य रक्षा गर्न मुम्बईका बलरहरूले बलिङमा राम्रो प्रभाव पार्न सकेनन्। जेसन बेहरेनडोर्फले पहिलो ओभरमै विकेट लिदै चेन्नईलाई स्तब्ध बनाएको थियो तर पछि रहाणे र गायकवाडले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरे। यो साझेदारीपछि खेल चेन्नईको हातमा आयो । सिएसकेका लागि शिवम दुबेले २८ र अजिंक्य रहाणेले ६१ रन बनाए । डेभन कोनवे शून्य रनमा आउट भए । मोइन अलीको अनुपस्थितिमा खेल्न आएका अजिंक्य रहाणे खेलको टर्निङ प्वाइन्ट साबित भए । डेभोन कोनवे शून्यमा आउट भएपछि उनी आएर तिव्र गतिमा रन बनाउन थाले। रहाणेले २७ बलमा ६१ रनको ज्वलन्त पारी खेले । उनले ऋतुराज गायकवाडसँग ४४ बलमा ८२ रनको साझेदारी गरे । मुम्बईका पियुष चावला, कुमार कार्तिकेय र जेसन बेहरेनडर्फले एक एक विकेट लिए ।

टिप्पणी लेख्नुहोस्