आईपीएल : मार्करामको स्थानमा भुवनेश्वरले हैदरावादको कमाण्ड सम्हाल्ने
काठमाडौँं । स्थायी कप्तान एडेन मार्करामको अनुपस्थितिमा भुवनेश्वर कुमारले सनराइजर्स हैदरावादको नेतृत्व गर्ने भएका छन । टोलीले अप्रिल २ मा राजस्थान रोयल्ससँग आईपीएल २०२३ को पहिलो खेल खेल्नेछ।
मार्कराम हाल नेदरल्याण्ड्स विरुद्धको एकदिवसीय शृंखलाका लागि दक्षिण अफ्रिकामा छन् र उनी अप्रिल ३ मा भारत पुग्नेछन्। यो सिरिज दक्षिण अफ्रिकाको दृष्टिकोणले भारतमा हुने विश्वकपमा प्रत्यक्ष स्थान पाउनको लागि महत्वपूर्ण हो। टोलीले नेदरल्यान्ड्स विरुद्धको दुबै ओडीआई कुनै ओभर-रेट पेनाल्टी बिना जित्नुपर्नेछ ।
भुवनेश्वर सन् २०१३ देखि हैदरावादसँग आवद्ध छन् र उनले विगतमा पनि टोलीको कप्तानी गरेका छन् । उनले सन् २०१९ मा छ र २०२१ मा एक गरि कुल सात खेलमा हैदरावादको नेतृत्व गरेका छन्। भुवनेश्वरको कप्तानीमा हैदरावादले मात्र दुई खेल जितेको छ ।
गत सिजनको आइपीएल अंक तालिकामा आठौं स्थानमा परेपछि हैदरावादले आफ्नो टोलीमा ठूलो परिवर्तन गरेको छ । जसमा सबैभन्दा ठूलो परिवर्तन केन विलियम्सनलाई रिलिज गर्नु र मार्करामको नेतृत्व क्षमतामा विश्वास गर्नु हो ।
मार्करामले एसए २० लिगको पहिलो सिजनमा सनराइजर्स इस्टर्न केपको कप्तानी गरेका थिए। उनको टोलीले यो लिगको उपाधि पनि जितेको थियो । मार्कराम प्रतियोगितामा तेस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले १२७ को स्ट्राइक रेटमा ३६९ रन बनाएका थिए भने ६.१९ को इकोनोमीमा ११ विकेट पनि लिएका थिए।
मार्कराम बाहेक हेनरिक क्लासेन र मार्को जान्सन पनि पहिलो खेलमा हैदराबादका लागि उपलब्ध हुने छैनन्। यस सन्दर्भमा आफ्नो पहिलो खेल अघि हैदरावादसँग विदेशी खेलाडीको रूप मा केवल पाँच विकल्प हुनेछ। हैदरावादले दोस्रो खेल ७ अप्रिलमा लखनउसँग खेल्ने छ ।

टिप्पणी लेख्नुहोस्