लेख विवरण

आईसीसीले खारेज गर्‍यो सफ्ट सिग्नल नियम

आईसीसीले खारेज गर्‍यो सफ्ट सिग्नल नियम

काठमाडौंँ । आईसीसीले सफ्ट सिग्नलको नियम खारेज गरेको छ । अब मैदानमा रहेका अम्पायरले टिभी अम्पायरलाई शंकास्पद क्याचहरूका लागि सफ्ट सिग्नल दिन आवश्यक नपर्ने भएको छ । यो नियम २०२३ जुन १ देखि लागू हुनेछ।

मैदानमा रहेका अम्पायरहरूले अब कुनै पनि शंकास्पद क्याचका लागि टिभी अम्पायरहरूसँग सीधै परामर्श लिनेछन्। आईसीसी पुरुष क्रिकेट समितिले यो नियम परिवर्तन गर्न सिफारिस गरेको थियो।

सन् २०२१ देखि नै आईपीएलमा सफ्ट सिग्नल नियम खारेज गरिएको थियो । यद्यपि यो अन्तर्राष्ट्रिय क्रिकेटमा जारी नै थियो ।

आईसीसी पुरुष क्रिकेट समितिका अध्यक्ष सौरभ गांगुलीले भने,'समितिले यसबारे विचार गर्‍यो र हामी यो निष्कर्षमा पुग्यौं कि सफ्ट सिग्नल आवश्यक छैन किनकि यो कहिलेकाहीं भ्रामक हुन सक्छ, कहिलेकाहीँ रिप्लेले क्याचको स्पष्टतामा शंका उत्पन्न गर्दछ।'

आइसीसीले फ्रि हिटमा पनि सामान्य नियम परिवर्तन गरेको छ । आईसीसी सञ्चालक समितिका अनुसार अब ब्याट्सम्यान फ्रि हिटमा बोल्ड भएपछि लिएको रनलाई बाइ रन मानिने भएको छ । उक्त रन ब्याट्सम्यानको खातामा गनिने छैन ।

साथै नयाँ नियममा आईसीसीले हाई रिस्क पोजिशनमा रहेका फिल्डरले हेल्मेट लगाउन अनिवार्य गरेको छ । फास्ट बलिङमा ब्याट्सम्यानले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने छ । साथै स्टम्प र विकेटको अगाडि उभिने विकेटकिपर र फिल्डरले पनि अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने व्यवस्था गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.