लेख विवरण

आईसीसी एकदिवसीय विश्वकपको उद्घाटन खेल इंग्ल्याण्ड र न्यूजील्याण्डबीच हुने

आईसीसी एकदिवसीय विश्वकपको उद्घाटन खेल इंग्ल्याण्ड र न्यूजील्याण्डबीच हुने

काठमाडौंँ । एकदिवसीय विश्वकप क्रिकेट अक्टोबरदेखि नोभेम्बरसम्म भारतमा हुनेछ । बीसीसीआईले खेल तालिकाको मस्यौदा तयार गरी आईसीसीलाई पठाएको छ । मस्यौदा अनुसार प्रतियोगिता अक्टोबर ५ बाट अहमदाबादबाट सुरु हुनेछ । विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलिया बिरुद्ध खेल्नेछ । खेल चेन्नईमा हुनेछ । प्रतियोगिताको सबैभन्दा ठूलो खेल भारत र पाकिस्तानबीच अक्टोबर १५ मा हुनेछ । यो खेल अहमदाबादको एक लाख दर्शक क्षमताको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । विश्वकपको फाइनल नोभेम्बर १९ मा अहमदाबादमै हुनेछ ।

अहमदाबाद बाहेक पाकिस्तानका खेलहरु हैदराबाद, बैंगलोर, चेन्नई र कोलकातामा हुनेछन्।

क्रिकेट वेबसाइट इएसपीएन क्रिकइन्फोका अनुसार आईसीसीले विश्वकप खेल्ने सबै टोलीलाई यो तालिकाको मस्यौदा पठाएको छ। उनीहरूको फिडब्याक आएपछि, अन्तिम तालिका अर्को हप्ता प्रकाशित हुनेछ।

सन् २०१५ र २०१९ मा भएको एकदिवसीय विश्वकपको तालिका एक वर्षअघिनै सार्वजनिक भएको थियो । सन् २०२३ को विश्वकपको तालिका भने अझै तय भएको छैन । प्रतियोगिता सुरु हुन ४ महिनाभन्दा कम समय बाँकी छ । गत मे महिनामा बीसीसीआई सेक्रेटरी जय शाहले विश्वकपको तालिका विश्व टेस्ट च्याम्पियनसिपका क्रममा जारी गरिने बताएका थिए । खेलतालिकामा ढिलाइ भएका कारण आईसीसीले विश्वकप खेलको टिकटको विवरण सार्वजनिक गर्न सकेको छैन ।

एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्ताव एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले अनुमोदन गर्ने भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार पीसीबीले भारतका सबै खेल श्रीलंकामा र बाँकी खेल पाकिस्तानमा गराउनुपर्ने प्रस्ताव राखेको छ । एसीसीले मंगलबार अर्थात जुन १३ मा एसिया कपको बारेमा आधिकारिक घोषणा गर्ने सम्भावना रहेको छ । त्यसपछि पाकिस्तानको भारतमा विश्वकप खेल्ने बाटो पनि खुलेको छ ।

एसीसीका एक सदस्यले सीईओ ज्योफ एलार्डिस र अध्यक्ष ग्रेग बार्कलेले पीसीबी अध्यक्ष नजम सेठीसँग कराचीमा भेट गरेको बताएका छन। एसिया कपका ४ खेल आफ्नो देशमा मात्रै हुने भएकाले पाकिस्तानले विश्वकप खेल्नका लागि कुनै शर्त नराख्ने पनि सो बैठकमा नै स्पष्ट पारिएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.