आईसीसी वरियतामा रासी भान डेर डुसेन र केशवको महाराज ठुलो फड्को
काठमाडौं । भर्खरै भारत विरुद्ध सम्पन्न भएको एकदिवसीय शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण अफ्रिकी खेलाडी रासी भान डेर डुसेन आईसीसी पुरुष तर्फको ब्याटिङ वरियतामा शीर्ष १० मा पर्न सफल भएका छन। उनी १० स्थान माथि उक्लिदै ७५० रेटिङ अंकका साथ १० औं स्थानमा पुगेका छन । भारतविरुद्धको शृङ्खलामा शतक प्रहार गर्ने उनका टोलीका साथी क्विन्टन डी कक पनि वरियतामा माथि उक्लिएका छन् । उनी चार स्थान माथि उक्ल्दै पाँचौं स्थानमा पुगेका छन। शृङ्खलामा शतक बनाएका डी कक र भान डेर डुसेनले क्रमशः २२९ र २१८ रन बनाएका थिए ।
भारत विरुद्धको शृङ्खलामा तेस्रो शतक बनाएका टेम्बा बाभुमा पनि एकदिवसीय ब्याटिङ वरियतामा ५९ औं बाट २१ औं स्थानमा उक्लिएका छन । बाभुमाले तीन खेलमा ५१ को औसतमा १५३ रन बनाएका थिए। पाकिस्तानका बाबर आजम र भारतका विराट कोहली शीर्ष दुई स्थानमा कायमै रहेका छन। कोहलीले दक्षिण अफ्रिका विरुद्धको शृङ्खलामा दुई अर्धशतक सहित ११६ रन बनाएका थिए ।
बलिङ वरियतामा लुङी एनगिडी र केशव महाराजले ठूलो फड्को मारेका छन् । एनगिडीले ३१.४० को औसतमा पाँच विकेट लिदै चार स्थान माथि उक्लिदै आईसीसी बलिङ वरियतामा २० औं स्थानमा पुगेका छन्। भारतका भुवनेश्वर कुमार भने चार स्थान तल झर्दै २२ औं स्थानमा पुगेका छन् ।
एकदिवसीय शृंखलामा विराट कोहलीलाई दुई पटक आउट गरेका केशव महाराज पनि १८ स्थान माथि उक्लिदै बलिङ वरीयतामा ३३ औं स्थानमा पुगेका छन । ट्रेन्ट बोल्ट र जोस हेजलउड शीर्ष दुई स्थानमा कायमै रहँदा बलिङ वरियताको शीर्ष १० मा धेरै परिवर्तन भएको छैन।
एकदिवसीय अल-राउन्डर वरियतामा भारत विरुद्धको एकदिवसीय शृंखलामा ६ विकेट लिएर विकेट चार्टको शीर्ष स्थानमा रहेका एन्डिले फेहलुकवायो तीन स्थान माथि उक्लिदै १५ औं स्थानमा पुगेका छन् । उनी पुरुषको एकदिवसीय अलराउन्डर वरियतामामा सबैभन्दा उच्च स्थानमा रहेका दक्षिण अफ्रिकी खेलाडी हुन्।
त्यस्तै टी-२० ब्याटिङ वरीयतामा वेस्ट इन्डिज विरुद्धको पहिलो दुई टी-२० खेल गुमाएका डेविड मलान तीन स्थान तल झरेका । उनी हाल टी-२० ब्याटिङ वरियतामा चौथो स्थानमा छन्। जोस बटलर पनि तीन स्थान तल झर्दै शीर्ष १० बाट बाहिरिएका छन् ।
आदिल रसिद एक स्थान माथि उक्लँदै एडम जाम्पासँगको बराबरीमा टी-२० बलिङ्ग वरियतामा तेस्रो स्थानमा पुगेका छन् । उनी बाहेक शीर्ष १० मा खासै परिवर्तन भएको छैन । वेस्ट इन्डिजका लागि इंग्ल्याण्ड विरुद्धको पहिलो टी-२० मा चार विकेट लिएका जेसन होल्डर ४९ स्थान माथि उक्लिएर २६ औं स्थानमा पुगेका छन्। अकेल होसेनले पनि दुई खेलमा बलिङ गरेपछि ४० स्थान माथि उक्लिदै बलिङ वरियतामा ३३ औ स्थानमा पुगेका छन् ।
वेस्ट इन्डिज विरुद्धको दोस्रो टी-२० जिताउन अलराउन्ड प्रदर्शन गरेका मोइन अली टी-२० अल-राउण्डर वरीयतामा चार स्थान माथि उक्लिएर ५ औं स्थानमा पुगेका छन । उनीभन्दा माथि मोहम्मद नाबी, शकिब अल हसन, ग्लेन म्याक्सवेल र वानिन्दु हसरंगा रहेका छन । खेलमा अलीले २१ बलमा ३४ रन बनाउदै ६ रनको इकोनोमीमा तीन विकेट पनि लिएका थिए।

टिप्पणी लेख्नुहोस्