आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाण सन्दीपद्धारा अदालतमा पेस
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दायर गरेको थियो। अभियोग पत्र दायरपछि अदालतमा मंगलबार सन्दीपको बयान भएको हो। सन्दीपसँग बयान लिने काम सकिएकाले बुधबारबाट थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले जानकारी दिए।
उनले आज नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला सुरु भएको बताए। उनले सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिएको बताए। उनले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताए। उनले पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टरको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको बताए। उनले किशोरीको बयान शङ्कास्पद रहेकाले किशोरीको जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने स्पष्ट पारे।
उनले भने, ‘‘आज बयान सकियो। थुनछेक बहस हुन पाएन, भोलिबाट थुनछेकको बहस सुरु हुन्छ। जबरजस्तीकरणको अभियोग म प्रति बदनियतका साथ कसैको उक्साहटमा लगाइएको छ, जुन अभियोग झुटो हो भनेर बयान गर्नुभएको छ र आफ्नो इन्कारी बयानलाई पुष्टि हुने विभिन्न किसिमका प्रमाण पनि पेस गर्नुभएको छ। प्रमाण भनेको पीडित भनेको व्यक्तिको हकमा जन्मदर्ताको विषयवस्तु। जन्मदर्ताका प्रमाण केही भेटिएका छन्। बयान प्रमाणित हुन पाएको छैन। पीडितले अनुसन्धानको क्रममा एउटा कागज दिनुभएको छ। उक्त कागजमा भएको ब्यहोरामा डाक्टरको समूहमा स्वास्थ्य परीक्षण गराउनुभएको छ, त्यहाँ दिनुभएको केस हिष्ट्रीको विषयवस्तु, अलिकति फरक देखिन्छ। त्यो विरोधाभासपूर्ण छ। नागरिकतालाई प्रमाण मान्ने कि जन्मकर्तालाई भन्ने विषयवस्तु नै मुख्य छ।’
सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ। पीडित किशोरीले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

टिप्पणी लेख्नुहोस्