आहा–रारा गोल्ड कप : आर्मीलाई हराउदै संकटा सेमिफाइनलमा
काठमाडौं । संकटा क्लब पोखरामा जारी २२औं आहा–रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा संकटाले विभागीय टोलीको त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हरायो ।
प्रतिस्पर्धातमक खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । संकटाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीलाई निराश बनायो । संकटाको जितमा मेसौको ओलोमोउ, स्टेफन बिनोङ र सुरज जिउ ठकुरीले गोल गरे । आर्मीका नवयुग श्रेष्ठको सुरुवती गोल सान्त्वना बन्यो ।
सेमिफाइनलमा संकटाले अर्को विभागीय टोली एपीएफ क्बलको सामना गर्नेछ । सहारा क्लबद्वारा आयोजित प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपियाँ पुरस्कार पाउनेछन् । विधागततर्फ उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्