इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौंँ । इटालीयन फुटबल क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । टोलीले मङ्गलबार कट्टर प्रतिद्वन्द्वी एसी मिलानलाई हराउदै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा इन्टरले एसीलाई १–० ले पराजित गर्यो । यसअघि इन्टरले पहिलो लेग २–० ले जितेको थियो । समग्रमा इन्टरले ३–० को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
इन्टर मिलानको जितमा कप्तान लाउटारो मार्टिनेजले एक मात्र गोल गरे । उनले अर्जेन्टिनालाई फिफा विश्वकप पनि जिताएका थिए । अब मार्टिनेज एकै सिजनमा विश्वकप र च्याम्पियन्स लिग जित्ने खेलाडी बन्न सक्छन् । च्याम्पियन्स लिगको फाइनलमा मिलानले रियल म्याड्रिड वा म्यानचेस्टर सिटीसँग इस्तानबुलमा जुन १० मा खेल्नेछ। सिटी र म्याड्रिडबीचको सेमिफाइनलको दोस्रो लेग बुधबार (आज) हुदैछ । पहिलो लेगमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
इन्टर मिलानले अहिलेसम्म तीन पटक च्याम्पियन्स लिग जितेको छ । टोलीले सन् १९६४, १९६५ र २०१० मा उपाधि जितेको थियो । त्यसैगरी, १९६७ र १९७२ मा उपविजेता भएको थियो ।

टिप्पणी लेख्नुहोस्