इन्डियन प्रिमियर लिगमा बैंग्लोरले मुम्बईलाई ८ विकेटले हरायो
काठमाडौं । कप्तान फाफ डु प्लेसिस र विराट कोहलीको विस्फोटक साझेदारीमा रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग–१६ को पाँचौं खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ ।
मुम्बईमाथि बैंगलोरको यो लगातार चौथो जित हो। मुम्बई इन्डियन्सले २०१३ यता खेलेका सबै सिजनमा आफ्नो पहिलो खेलमा हार ब्योहोरेको छ।
चिन्नास्वामी रंगशालामा टस हारेर ब्याटिङ रोजेको मुम्बई इन्डियन्सले तिलक वर्मा (८४ रन)को अर्धशतकमा २० ओभरमा ७ विकेट गुमाएर १७१ रनको चुनौतीपूर्ण स्कोर बनायो। जसलाई बैंगलोरका ओपनर विराट कोहली (नटआउट ८२) र फाफ डु प्लेसिस (७३ रन) ले बौना साबित गरेका थिए। यी दुईबीच १४८ रनको साझेदारी भयो । यो साझेदारीका कारण बेंगलुरुले १६.२ ओभरमा दुई विकेट गुमाएर १७२ रनको लक्ष्य हासिल गर्यो। विराट कोहलीले ४५ औं र कप्तान फाफ डु प्लेसिसले २६ औं अर्धशतक बनाए ।
पहिले ब्याटिङ गरेको मुम्बईको सुरुवात राम्रो हुन सकेन र टोलीले ११ रनमा इशान किशनको विकेट गुमायो । पावर प्लेको अन्त्यसम्ममा टोलीका शीर्ष ३ ब्याट्सम्यानहरू डगआउटमा पुगेका थिए र स्कोरबोर्डमा २९ रन मात्रै थपिएको थियो। यस्तो अवस्थामा मध्यक्रममा खेल्न आएका युवा ब्याट्सम्यान तिलक वर्माले अग्रता लिदै टोलीलाई १७१ रनको स्कोरमा पुर्याए ।
बैंगलोरका युवा कर्ण शर्माले दुई विकेट लिए । सिराज, तुफ्ली, आकाशदीप, हर्षल र माइकल ब्रेसवेलले एक–एक विकेट लिए ।
जवाफमा कप्तान फाफ–विराटको विस्फोटक इनिङ्सले मुम्बईको स्कोरलाई सहजै पछ्यायो । फाफ १४८ रनमा आउट भए । त्यसपछि बाँकी जिम्मेवारी कोहली र म्याक्सवेलले पुरा गरे । यसबीचमा बैंगलोरले दिनेश कार्तिकको विकेट गुमाएको थियो ।

टिप्पणी लेख्नुहोस्